नेप्सेमा एकैदिन ६५ अंकको गिरावट
माघ १७, २०७३ | काठमाडौं
नेपाल स्टक एक्स्चेञ्जमा आवद्ध कम्पनीहरुको शेयर कारोबारमापक नेप्से परिसूचक आज ठूलो अंकले घटेको छ ।
पछिल्लो समय लगातारजसो ओरालो लागेको नेप्से परिसूचक आज पनि ६५ दशमलव ४४ अंकले घटेर १ हजार ३ सय ९ दशमलव ७ अंकमा पुगेको छ । यो गत साता कारोबार भएको अन्तिम दिनको तुलनामा ४ दशमलव ७६ प्रतिशतले कम हो ।
स्टक एक्स्चेञ्जमा आवद्ध सबै कम्पनी समुहको उपसूचकमा गिरावट आएपछि समग्र बजार प्रभावित भएको हो । सबैभन्दा बढी बिमा समुहको कारोबार ५ सय ४६ दशमलव ५५ अंकले घटेको छ ।
गत साउनमा हालसम्मकै उच्च १ हजार ८ सय ८७ अंकमा पुगेको नेप्से परिसूचक त्यसयता घटेर १३ सयको हाराहारीमा पुगेको हो ।
बैंकहरुको व्याजदरमा भएको बृद्धि तथा शेयर धितोको कर्जामा गरिएको कडाई/बजारमा आएको तीब्र गिरावटको मुख्य कारण भएको विश्लेषकहरु बताउँछन् । साथै लगातारजसो शेयर घटिरहदा लगानीकर्ता अत्तालिएका कारण पनि बजारमा दबाब बढेको छ ।
आज कुल १ सय २३ कम्पनीको कारोबार भएकोमा राष्ट्रिय बिमा कम्पनीसहित ५ वटा कम्पनीले मात्रै नाफा कमाएका छन् । धितोपत्र बजारमा आज ५३ करोड ६६ लाख २८ हजार ३ सय ८५ रुपैयाँ बराबरका ११ लाख २६ हजार ४ सय ६५ कित्ता शेयर किनबेच भएको स्टक एक्स्चेञ्जले जनाएको छ ।