साल्ट ट्रेडिङ कर्पोरेशन सेवामुखी हुनुपर्छ : मन्त्री यादव

रेडियो कान्तिपुर संवाददाता

भाद्र २७, २०७५ | काठमाडौं

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले साल्ट ट्रेडिङ कर्पोरेशनलाई सेवामुखी संस्था बनाउनुपर्ने बताउनु भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५६ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री यादवले सेवामुलक संस्था भएकाले यसलाई नाफामुखी भन्दा सेवामुखी बनाउनुपर्ने बताउनु भएको हो । साल्ट ट्रेडिङ कर्पोरेशन भित्र रहेको समस्या समाधानका लागि मन्त्रालय प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । 

कृषि प्रधान देशका जनताले विदेशबाट खाद्यान्न आयत गर्नुपर्ने अवस्था आएको भन्दै समस्या समाधानका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । सरकारका दुई वटा संस्थाले किसानलाई मल उपलब्ध गराउने गरेपनि मलको हाहाकार हुने गरेको भन्दै मन्त्री यादवले किसानलाई सहज रुपमा मल उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

‘साल्ट ट्रेडिङ कर्पोरेशनले ग्यास, मल चिनी पनि उपभोक्ता समक्ष पुर्‍याउने काम गरेको छ, उहाँले भन्नुभयो, ‘मेरो के आग्रह छ भने, सरकारको तर्फबाट दुई संस्थाले मल उपलब्ध गराउने जिम्मा लिएको छ तर पनि मलको हाहाकार हुँदो रहेछ, त्यसैले सम्बन्धित निकायसंग छलफल गरेर समाधान निकाल्नु पर्छ ।’

किसानले समयमै मल नपाउँदा उत्पादनमा समेत गिरावट आउने गरेको मन्त्री यादवको भनाई थियो । उहाँले भन्नुभयो, ‘कृषि प्रधान देशका किसानले समयमै मल पाएन भने उत्पादन पनि बढ्दैन, हामी के भन्छौ भने व्यापार घाटा भयो, कृषि प्रधान देशका हामीले सबै वस्तु विदेशबाट आयात गर्नुपर्ने अवस्था छ ।’

मन्त्री यादवले व्यापार घाटा कम गर्न समेत सरकार, किसान र व्यवसायीबीच छलफलको आवश्यकता औंल्याउनुभयो । समृद्ध नेपाल सुखी नेपाली अभियानका लागि सबै उक हुनुपर्ने उहाँले बताउनुभयो । सबैले इमानदारी पूर्वका आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने भन्दै उहाँले व्यवसायीहरुले पनि नाफामुखी मात्र हुन नहुने बताउनुभयो । 

‘सरकार, कर्मचारी, व्यवसायी, उपभोक्ता, किसान सबैबीच छलफल हुनुपर्छ, सबै एक हुनुपर्छ, उहाँले भन्नुभयो, ‘व्यवसायीहरुले पनि नाफा कमाउने मात्र हो भन्ने भावना राख्नु हुन्न । कर्मचारी, मजदुर साथीहरुले पनि सरकारी काम कहिले जाला घाम भन्ने सोच राख्नु हुन्न, उपभोक्ताले पनि उचित मूल्य तिर्न आनाकानी गर्नुहुँदैन ।’

कृषि प्रधान देशका किसानले समेत मल अभाव झेल्नु परेको भन्दै उहाँले सम्बन्धित निकायसँग छलफल गरी समस्या समाधान गर्नुपर्ने बताउनुभयो । 


प्रतिक्रिया