खाद्यान्नको मूल्य सूची टाँस्न रोल्पा प्रशासनको निर्देशन

आश्विन २४, २०७५ | रोल्पा

चाडपर्व नजिकिएका बेला स्थानीय प्रशासनले व्यापारीलाई मूल्य सूची टाँस्न निर्देशन गरेको छ । प्रमुख जिल्ला अधिकारीले व्यापारीको भेला गराई मूल्यमा एक रुपता तय गर्न र सार्वजनिक रुपमा देख्न सकिने गरी सूची टाँस्न आह्वान गरेका हुन् ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले उद्योग वाणिज्य संघका पदाधिकारी सहित व्यापारीको भेला गराई खाद्यान्न लगायत दैनिक आवश्यकता सम्बन्धी सामग्रीमा मूल्य तोक्न आग्रह गरेको बताउनुभयो । ‘खाद्यान्न लगायत दैनिक आवश्यकताका सामग्रीको मूल्य एक रुपता बनाउन र मूल्य सूची टाँस्न भनेका छौं ।’ प्रजिअ एमसीले भन्नुभयो, ‘होटेल संचालक र तरकारी पसल संचालकलाई पनि भनेका छौं ।’

रोल्पा उद्योग वाणिज्य संघका महासचिव केशव आचार्यले स्थानीय प्रशासनले मूल्य तोक्न र सूची टाँस्न भन्नु अघि नै व्यापारीले त्यसो गरेको बताउनुभयो । उहाँले धेरैजसो व्यापारीले आफ्नो पसलको मूल्य सूची टाँसेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘व्यापारीलाई हामीले मूल्य निर्धारण गर्न र टाँस्न निर्देशन जारी गरेका छौं ।’

सदरमुकाम लगायत बजार बिस्तार हुँदै गरेका जिल्लाका सुलीचौर, होलेरी, घर्तीगाउँ, टिला, बागमारा, नेर्पा लगायतका स्थानमा रहेका व्यापारीलाई संघले मूल्य तोक्न र सूची टाँस्न भनेको आचार्यले बताउनुभयो । तर स्थानीयले भने प्रशासनले बजार अनुगमन नगरेको बताएका छन् ।

बजार अनुगमन गर्ने कार्यलाई प्रशासनले सदरमुकाममा औपचारिकता दिएपनि उपभोक्ताका पक्षमा काम गर्न चासो नदेखाएको आरोप उपभोक्ताहरुको छ । दैनिक प्रयोग हुने सामग्रीको मूल्य एक रुपता नहुँदा असमानता व्यहोर्ने परेको उपभोक्ताको गुनासो छ । 


प्रतिक्रिया