मापदण्ड विपरीत पशु चौपायाको ढुवानी
माघ १३, २०७५ | काठमाडौं
मुलुकमा मापदण्ड विपरीत पशु चौपायाको ढुवानी हुने गरेको पाइएको छ । पशु चौपाया ढुवानीलाई व्यवस्थित बनाउन सरकारले पशु ढुवानी मापदण्ड बनाएपनि पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन । पशु ढुवानी मापदण्ड अनुसार ढुवानी गर्दा हलचल गर्न सकिने, चोट नलाग्ने, अत्यधिक चिसो वा तातोबाट बचाउने, आपसमा ठोक्किएर अगंभगं नहुने गरी सावधानी पूर्वक ढुवानी गर्नु पर्नेछ ।
साथै, आन्तरिक रुपमा ढुवानी हुने पशुको हकमा गोठालासंगै निर्दिष्ट ढाँचाको पशु चिकित्सकद्वारा प्रदान गरिएको स्वास्थ्य प्रमाणपत्र हुनु पर्ने भएपनि मापदण्ड विपरीत पशु चौपायाको ढुवानी हुने गरेको पशु सेवा विभागले जनाएको छ ।
ढुवानी गर्ने गाडीमा पशुलाई अस्वाभाविक रुपमा शरीर, नाके डोरी, पुच्छर वा खुट्टा बाध्नु नपाइने तथा शारिरीक बनोट फरक हुने विभिन्न जातका पशुलाई एउटै गाडीमा राखेर ढुवानी गर्न नपाइने मापदण्डमा उल्लेख छ । तर, पशु चौपाया ढुवानीकर्ताले मापदण्ड विपरीत ढुवानी गर्ने गरेको विभागका महानिर्देशक विमल कुमार निर्मलले बताउनुभयो ।
मापदण्ड विपरीत पशु चौपाया ढुवानी गरे १० वर्ष सम्म जेल सजायँ हुने कानूनी व्यवस्था रहेको जानकारी दिंदै उहाँले आगामी दिनमा कडाइका साथ लागू गरिने बताउनुभयो ।
स्वच्छ मासु आपूर्ति र पशु ढुवानी मापदण्ड २०६४ कार्यान्वयन सम्बन्धी ललितपुरमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा विभागका महानिर्देशक विमल कुमार निर्मलले अनुगमनका क्रममा पीडादायी एवं अमानविय ढङ्गबाट पशु चौपायको ढुवानी हुने गरेको भेटिएको बताउनुभयो ।
स्वास्थ्य प्रमाणपत्र विना नै ओसार पसार, भेटेरिनरी प्रमाण पत्रको आधिकारिकता तथा आन्तरिक पशु क्वारेन्टाइन चेकपोष्टमा दरपीठ नहुने गरेको पाइएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा काठमाडौं चौपाया खदिर बिक्री प्रालिका अध्यक्ष जीवनराज खतिवडाले आयातकर्तालाई कारबाही र जरिवाना लगाएर मात्र पशु चौपाया ढुवानी व्यवस्थित नहुने बताउनुभयो । सरकारकै कमजोरीका कारण पशु ढुवानी मापदण्ड प्रभावकारी रुपमा लागू नहुँदा समस्या भएको बताउनुभयो । ढुवानी मापदण्ड पूर्ण रुपमा कार्यान्वयनका लागि स्थानीय तहको समन्वयमा अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो ।
आगामी दिनमा चौपाया ढुवानीलाई व्यवस्थित बनाउन संविधान अनुसार कानून तर्जुमा, संशोधन तथा पशु कल्याण ऐन तर्जुमा गरी कार्यान्वयनमा ल्याइने विभागले जनाएको छ । जनचेतनामूलक कार्यक्रम, सम्बन्धित व्यवसायीका लागि तालिम, पशु ढुवानीका लागि छुट्टै ढुवानी साधन लगायतको व्यवस्था गरी यसलाई व्यवस्थित बनाने तयारीमा रहेको विभागले जनाएको छ ।








