अर्थतन्त्रमा अंकगणीतीय सूचक मात्रै हेर्न हुँदैन : अर्थमन्त्री

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ६, २०७५ | काठमाडौं

- अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्रमा अंकगणीतीय सूचक मात्रै हेर्न नहुने बताउनुभएको छ । कान्तिपुर कन्क्लेभ अन्तर्गत विश्व परिवेशमा नेपाल सत्रमा बोल्दै अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका सूचक भन्दापनि समावेशी आर्थिक विकासको अवधारणामा जोड दिनुभयो ।

अर्थतन्त्रका अधिकांश सूचकहरु नकारात्मक भइरहेका बेला मन्त्री खतिवडाको यस्तो भनाई आएको हो । उहाँले भन्नुभयो, ‘८ अंकको आर्थिक वृद्धि मात्रै महत्वपुर्ण विषय होईन, समग्र आर्थिक उन्नती र प्रगती तथा समावेशी आर्थिक विकासमा कति महत्वपुर्ण कदम चालियो भन्ने महत्वपुर्ण हुन्छ ।’

सरकारले निर्धारण गरेको ८ अंकको आर्थिक वृद्धि हासिल गर्नसक्ने आधार बनेपनि सामाजिक न्यायाको क्षेत्रमा परिवर्तन खोज्नु महत्वपुर्ण हुने खतिवडाको भनाई छ । 

पछिल्लो समय विश्वको ध्यान नै नेपाल प्रति खिचिएको अर्थमन्त्री खतिवडाले बताउनुभयो । बाह्य लगानीका लागि नेपाल भर्जिन ल्याण्ड भएको भन्दै उहाँले अन्तर्राष्ट्रिय लगानी आकर्षण गर्न सरकारले वातावरण बनाईरहेको बताउनुभयो ।

पुँजीको उत्पादकत्व बढ्ने क्रममा रहेको र सरकारले आगामी चैतमा गर्न लागेको सम्मेलनमा प्राथमिकताका क्षेत्रहरु निर्धारण गरेर अन्तर्राष्ट्रिय लगानीको आह्वान गरिने मन्त्री खतिवडाको भनाई छ । वाह्य लगानीलाई सुरक्षित गर्न सरकार प्रतिवद्ध रहेको मन्त्री खतिवडाले बताउनुभयो । 

 


प्रतिक्रिया