आयोजना निर्माणमा ढिलाई गर्नेको सम्झौता खारेज गछौं : ऊर्जामन्त्री

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ६, २०७५ | काठमाडौं

- ऊर्जामन्त्री बर्षमान पुनले कुनै पनि जलविद्युत आयोजना निर्माणमा ढिलाई गर्नेको ठेक्का सम्झौता खारेज गरिने बताउनुभएको छ । कुनै पनि आयोजनामा ढिलाई गर्ने कम्पनीलाई समस्या समाधानमा सहयोग गर्ने र त्यसो हुन नसके ठेक्का प्रक्रिया नै खारेज गर्ने उहाँको भनाई थियो ।

प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै मन्त्री पुनले आयोजना निर्माणमा हुने ढिलाईप्रति सरकार गम्भिर रहेको बताउनुभयो । 

आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत उल्पादन गर्ने उल्लेख गर्दै मन्त्री पुनले १० हजार आन्तरिक खपत र ५ हजार मेगावाट विद्युत छिमेकी बजार भारत र बङलादेशमा विक्री गर्ने बताउनुभयो । जलविद्युतकै माध्यमबाट आउदो एक दशकमा १० प्रतिशत हाराहारिमा आर्थिक वृद्धिदर हासिल गर्ने मन्त्री पुनको दाबी थियो । 

आगामी वर्ष ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीले विद्युत उत्पादन थालेपछि अर्बौ रुपैयाँको विद्युत छिमेकी बजारमा बेचेर मुलुक ऊर्जामा आत्मनिर्भर बन्ने मन्त्री पुनको भनाई थियो । बैठकमा सांसदहरु ज्ञानेन्द्रबहादुर कार्की, रामबहादुर बिष्ट, प्रेम सुवाल, दिव्यमणी अधिकारी लगायतले आयोजनाहरु समयमै सम्पन्न नहुने प्रबृत्तिबारे प्रश्न उठाएका थिए ।   

 


प्रतिक्रिया