दाङमा १३२ केभी प्रसारण लाइनको उद्घाटन

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ९, २०७५ | काठमाडौं

दाङको बबई गाउँपालिका ६ च्याटी खोलास्थित कुसुम–हापुरे १३२ केभी प्रसारण लाइनको बिहीबार उद्घाटन भएको छ । यसअघि जिल्लामा लमहीको ३३ केभी लाइनबाट मात्रै विद्युत विस्तार भएको थियो । जिल्लामा पहिलो पटक यति ठूलो क्षमताको सवस्टेशन निर्माण भएको र अब विद्युतको समस्या समाधान भएको नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी उपनिर्देशक बज्रभुसन चौधरीले बताउनुभयो ।

४३ करोड ८६ लाख रुपैयाँ लागतमा सवस्टेशन निर्माण भएको उहाँले जानकारी दिनुभयो । हापुरेमा निर्माण हुन थालेको दाङ सिमेण्ट उद्योगलाई लक्षित गरी बनाइएको सवस्टेशनले अन्तमा उद्योग नबन्दै दाङलाई उज्यालो बनाउन भूमिका खेलेको उहाँले बताउनुभयो ।

अब जिल्लाका सबै सिमेण्ट उद्योगलाई विद्युत आपूर्ति गरी बाँकी ३८ हजार ग्राहकलाई तत्कालै विद्युत विस्तार गर्न सकिने चौधरीले जानकारी दिनुभयो । हाल दाङमा चार सिमेण्ट उद्योग सञ्चालित छन् ।

घोराही १३२ केभी प्रसारण लाइनको निर्माण पनि अन्तिम चरणमा पुगेको र अब छिट्टै माग भन्दा बढी विद्युत आपूर्ति हुने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । उहाँले विद्युत खपत बढाउन सबैलाई आग्रह गर्नुभयो ।

सवस्टेशन उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले शान्ति वार्ताका कारण देश विदेश चिनिएको हापुरे फेरि एकपटक उज्यालोको स्रोतका रुपमा चिनिएको बताउनुभयो । अब जनताले मागे जति विद्युत दिन सक्ने अवस्थामा पुगेको उहाँले दाबी गर्नुभयो ।

अब विद्युतको समस्या हटेको उल्लेख गर्दै उहाँले यसको सदुपयोग बढाउन योजना बनाउने बेला आएको विचार व्यक्त गर्नुभयो । अहिले देशभर नै जनताको जलविद्युत आयोजना अभियान चलाएर हरेक जनतालाई विद्युतको सेयर धनी बनाउन सरकार अगाडि बढेको उहाँले बताउनुभयो । अब चार वर्षभित्र विद्युतमा देशका हरेक नागरिकको पहुँच पुग्ने दाबी गर्दै मन्त्री पुनले सबैका घर उज्यालो बनाउने अभियानमा लागेको बताउनुभयो ।

उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले आयातित विद्युतको उपयोग अन्त्य गर्ने योजना अनुसार काम गरिरहेको बताउनुभयो । विद्युतको क्षमता वृद्धिसँगै स्थानीय तह पनि अब गाउँवस्ती उज्याला हुनेमा आशावादी भएको बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले बताउनुभयो ।

प्रदेश सांसद इन्द्रजीत थारुले विद्युतको विस्तारसँगै दाङमा खुशीका दिन सुरु भएको बताउनुभयो । यो विद्युत लाइन विस्तारले दाङमा कम भोल्टेज र लोडसेडिङको समस्या समाधान भएको कुसुम हापुरे १३२ केभी प्रुसारण लाइन आयोजना प्रमुख मनोजकुमार चौधरीले बताउनुभयो ।


प्रतिक्रिया