उच्च आयातका कारण शोधनान्तर घाटा करीब ५९ अर्ब पुग्यो

रेडियो कान्तिपुर संवाददाता

वैशाख ४, २०७६ | काठमाडौं

उच्च आयातका कारण चालू आर्थिक वर्षको ८ महिनामा शोधनान्तर घाटा थप बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको समीक्षा प्रतिवेदनमा शोधनान्तर घाटा ५८ अर्ब ९९ करोड रुपैयाँ रहेको रहेको उल्लेख छ ।

यस्तै, चालू खाता घाटा समेत १ खर्ब ९१ अर्ब १३ करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ । वस्तु आयात २३ दशमलव ८ प्रतिशतले बढेर ९ खर्ब ४९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । निर्यात १४ दशमलव ६ प्रतिशतले बढेर ६१ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

ब्यापार असन्तुलनका कारण ब्यापार घाटा साढे २४ प्रतिशतले बढेर ८८७ अर्ब ८८ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा जनाइएको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३८ दशमलव ३ प्रतिशतले घटेपनि रेमिटेन्स भने बढेको छ ।

समीक्षा अवधिमा ५ खर्ब ७२ रेमिटेन्स मुलुक भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधीको तुलनामा २३ दशमलव ४ प्रतिशतले बढी हो । मूल्य वृद्धिदर भने ४ दशमलव २ प्रतिशतमा सीमित रहेको प्रतिवेदनमा उल्लेख छ । 


प्रतिक्रिया