कुलेखानी तेस्रो र माथिल्लो त्रिसूली ३ ए निर्माणको अन्तिम चरणमा 

रेडियो कान्तिपुर संवाददाता

वैशाख ४, २०७६

- नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्रि ए जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । त्रिशूली थ्रि ए को करिब ५ किलोमिटर मुख्य सुरुङमा आजबाट परीक्षण सुरु गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

रसुवा र नुवाकोटमा निर्माण गरिरहेको माथिल्लो त्रिसुली थ्री ए जलविद्युत आयोजनाको ३० मेगावाटको पहिलो युनिटबाट  आगामी  वैशाख १७ भित्र विद्युत उत्पादन थाल्ने तयारी रहेको घिसिङले बताउनुभयो ।

आयोजनाको बाँध तथा त्यहाँ रहेका गेट, बालुवा थिग्रयाउने पोखरी लगायतका संरचनाको परीक्षण सफलतापूर्वक सम्पन्न भएको घिसिङले जानकारी दिनुभयो । ३० मेगावाटकै दोस्रो युनिबाट समेत असारभित्रमा विद्युत उत्पादनको लक्ष्य राखिएको छ । प्रसारण लाइनसहित कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाा एक्जिम बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको हो । 

यसैबीच १४ मेगावाटको कुलेखानी तेस्रो कुलेखानी तेस्रोको ४दशमलव २ किलोमिटर मुख्य सुरुङको परीक्षण समेत  सकिएको  छ । निर्माण सुरु भएदेखि नै विभिन्न समस्या  झेल्दै आएको आयोजनाले पछिल्लो समय भने गति लिएको निर्देशक घिसिङले बताउनुभयो । कुलेखानी तेस्रोको मुख्य सुरुङको परीक्षण सम्पन्न गरी पानी भरेर राखेका विद्युत् गृहका टर्वाइन, जेनेरेटर लगायतका इलेक्ट्रोमेकानिकल उपकरणहरुको जडान सम्पन्न गरी परीक्षणको क्रममा रहेका घिसिङको भनाई थियो ।

नेपाल सरकार र विद्युत प्राधिकरणको लगानीमा निर्माण भइरहेको आयोजनाको सुरुको लागत २ अर्ब ३३ करोड रुपैयाँ थियो । आयोजनाको निर्माण अवधि बढेसँगै आयोजनाको लागत ४ अर्ब ६३ करोड रुपैयाँ पुग्ने संसोधित अनुमान छ । 

 


प्रतिक्रिया