सार्कका महासचिव लुम्बिनीमा (फोटोफिचर)

कार्तिक ३०, २०७७ | कपिलवस्तु

बुद्ध जन्मस्थल लुम्बिनीकै आकर्षणको रुपमा रहेको महासिद्ध स्यानचुरी फर वर्ल्ड पिस केन्द्र निर्माणका लागि मुठीदान अभियान सञ्चालन गरिएको छ । अभियान अन्तर्गत एक रुपैयाँ दान कार्यक्रम सुरु गरिएको छ । दक्षिण एशियाली सहयोग संगठन (सार्क) महासचिव एसला रुवान विराकोनले एक रुपैयाँ दान गरेर सो अभियानको औपचारिक शुभारम्भ गर्नुभयो । कार्यक्रममा उहाँका श्रीमती क्रिशान्तिले एक डलर दान गर्नु भएको थियो । 

नेपालमा एक रुपैयाँ र अन्यत्र एक डलर दान अभियान चलाएर लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन विश्वभरबाटै व्यापक सहभागीता र योगदान होस् भन्ने उद्देश्यले अभियान चलाईएको परिकल्पनाकार श्यालपा तेन्जिङ रिम्पोचेंले बताउनुभयो । ‘यस्तो कामले सबैको अपनत्व बढछ,’ उहाँले भन्नुभयो, ‘शान्ति, सद्भाव, मैत्री र करुणाको भावना उत्प्रेरित हुन्छ ।’ मुठी दानमा सबैले सहभागीता जनाएर लुम्बिनीलाई विश्व शान्तिको मुहान बनाउन उहाँले आग्रह समेत गर्नुभयो । 

वर्ल्ड पिस केन्द्रमा दुई हजार बढी क्षमताको सभाकक्ष, शान्ति वार्ता र ध्यान कक्ष, पुस्तकालय र संग्रहालय हुनेछन् । त्यस्तै, विहार र गुम्बा रहने अत्याधुनिक केन्द्र हुन्छ । जर्मन आर्किटेक्टले डिजाईन गरेको कमलको फूल आकारमा निर्माण हुन लागेको वर्ल्ड पिस केन्द्र ३ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य छ । महायानी सम्प्रदायलाई छुट्याईएको पश्चिम क्षेत्रको प्लटमा दक्षिण कोरियाली विहार नजिक वर्ल्ड पिस केन्द्र निर्माण भईरहेको छ । 

अहिले केन्द्रको फाउण्डेसन निर्माणको काम सकिएको छ । यस अघि महासचिव विराकोनले बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर अवलोकन गर्नु भएको थियो । उहाँलाई लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेती र भिक्षु सागर धम्मले लुम्बिनीको ऐतिहासिक महत्व र विकास गतिविधि बारे जानकारी गराउनु भएको थियो ।


प्रतिक्रिया