बन्दै गरेको पुल त्रिशूलीमा खस्यो (फोटोहरु)

चैत्र २८, २०७७ | चितवन

भरतपुर ठिमुरा र देवघाटको घिनाघाट जोड्न त्रिशूली नदीमाथि बन्दै गरेको मोटरेवल गुड्ने पुल भत्ेको छ । मंगलबार बिहान चार बजे तिर पुल भत्केको थियो । बन्दै गरेको यो पुलले चितवन र तनहुँ मात्रै नभएर बागमती र गण्डकी प्रदेशलाई पनि जोड्छ । 

पुल दुई सय मिटर लामो छ । पुलका चार वटा स्पान हुन्छन् । कंक्रिटका ४०/४० मिटरका तीन वटा र स्टिलको एउटा ४० मिटरको स्पान पुलमा रहन्छ । देवघाट तर्फ रहने एउटा स्पान र ठिमुरा तर्फ रहने दुईवटा स्पानको ढलान भईसकेको छ । बिचमा रहने कंक्रिटको स्पान राख्न बाँकी छ । 

ढलान भएको मध्ये ठिमुरा तर्फका दुईवटा कंक्रिटको स्पान नदीमा खसेको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताउनुभयो । 

आउँदो जेठभित्र निर्मण सक्ने गरेर धमाधम काम भइरहेका बेलामा यस्तो घटना भएको डिभिजन सडक कार्यालयका प्रमुख कृष्णराज अधिकारीले बताउनुभयो । पुलको शिलान्यास ७१ सालमा भएको थियो । पुलको कुल लागत १९ करोड रुपैयाँ रहेको छ । यो पुललाई अघिल्लो वर्ष पनि बाढीले क्षति पुर्‍याएको थियो ।


प्रतिक्रिया