राष्ट्रिय सेवा दलका ५०९ क्याडेट दीक्षित

फाल्गुन २, २०७६ | काठमाडौं

मुलुकभरका निजी तथा सरकारी विद्यालयमा अध्ययनरत छात्र/छात्राहरुलाई सहभागी गराई नेपाली सेनाले आयोजना गरेको १ सय दिने राष्ट्रिय सेवा दल एनसीसी तालिमको आज सामपन गरिएको छ । 

ललितपुरको लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको मैदानमा आयोजित एनसीसी तालिमको दीक्षान्त कवाजको प्रधानमन्त्री केपी शर्मा ओलीले निरीक्षण गर्नुभयो । 

राष्ट्रिय सेवा दलका संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीले क्याडेटहरुलाई दर्ज्यानी चिन्ह पनि प्रदान गर्नुभयो ।

क्याडेट छात्र/छात्राहरुको मानसिक र वैचारिक परिपक्वता तथा नेतृत्व विकास क्षमतामा अभिवृद्धि गराउने उद्देश्य सहित नेपाली सेनाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको समन्वयमा २०२२ सालबाट एनसीसी तालिम सञ्चालन गर्दै आईरहेको छ ।

हालसम्म ५१ हजार ३ सय ३२ जना क्याडेट छात्र/छात्राहरुले तालिम हासिल गरिसकेका छन् । आजको दीक्षान्त कार्यक्रममा १२ विद्यालयका ५ सय ९ जना क्याडेट छात्र/छात्राहरु दीक्षित भए । 

शिक्षा मन्त्रालयसँगको समन्वयमा विद्यालय तथा विद्यार्थीहरु छनौट गरी १ सय दिनको तालिम सञ्चालन हुन्छ । 

समारोहमा राष्ट्रिय सेवा दलका सह–संरक्षक एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापा, विभिन्न मुलुकका सैनिक सहचारी लगायतको उपस्थिति थियो ।  


प्रतिक्रिया