मन्त्रीकै सहयोगीले गरे १७ वर्षीया किशोरीको बलात्कार

फाल्गुन १४, २०७६ | काठमाडौं

बलात्कारको अभियोगमा काठमाडौं प्रहरीले पक्राउ गरेका व्यक्ति एक बाहलवाला राज्यमन्त्रीका सल्लाहकार रहेको खुलेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ५२ वर्षीय अमृतकुमार घलेलाई नियन्त्रणमा लिएको थियो । घले शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार हुन् । 

पक्राउ परेपछि उनले आफू मन्त्रीको सल्लाहकार रहेको भन्दै उम्किने प्रयास समेत गरेका थिए ।

१७ वर्षीया किशोरीलाई टोखास्थित फ्ल्याटमा बन्धक बनाएर बलात्कार गरेको उजुरीपछि घलेलाई नियन्त्रणमा लिईएको परिसरका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो । 

गत माघ २७ गते ती किशोरी काभ्रेको बनेपामा काठमाडौं आउने बस कुरेर बसिरहेकी थिइन् । घले पनि कामले बनेपा पुगेका थिए । 

उनी फर्किदै गर्दा बाटोमा तीनै किशोरीलाई लिफ्ट दिएका थिए । तर, उनले काठमाडौं आएपछि आफ्नो कोठामा लगेर उनलाई बन्धक बनाएको उजुरीमा उल्लेख छ । 

केही दिनसम्म थुनेर बलात्कार गरेको भन्दै युवतीले प्रहरीमा उजुरी दिएकी छिन् । घलेका परिवार अमेरिका बस्दै आएका छन् । 

काठमाडौको एक कलेजमा कक्षा १२ मा अध्यनरत ती किशोरीलाई अमेरिका पठाइदिन्छु भन्दै घलेले आश्वासन समेत दिएको प्रहरी अुसन्धानबाट खुलेको छ । तर, फागुन १ गते युवतीले मोबाइलबाट आफ्नो भिनाजुलाई खबर गरेपछि घटना प्रहरीकहाँ पुगेको थियो । 

६ जनाको प्रहरीले दिनभर मोबाइल नम्बर ट्रयाक गरेर युवतीलाई खोजी गर्‍यो । पीडित युवती नाबालिक हुन् । 

कानूनमा उमेर नपुगेको किशोरीसँग मञ्जुरीमा समेत यौन सम्बन्ध गर्नुलाई अपराधका रुपमा किटान गरिएको छ । 

घलेलाई प्रहरीले शरीर बन्धक तथा बलात्कार मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ । किशोरी काठमाडौंको नयाँ बजारमा दिदी भिनाजूसँग बस्दै आएकी थिईन् ।    


प्रतिक्रिया