तस्करीको सुन लुट्ने १६ प्रहरीलाई निलम्बन गर्न सिफारिस

फाल्गुन १४, २०७६ | काठमाडौं

चीनको केरुङ नाकाबाट भित्रिएको तस्करीको सुन लुटेको अभियोग लागेका रसुवास्थित सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ जनालाई तत्काल निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र पठाएको छ । 

नेपालसहित सई भोजबहादुर सेन वली, असई रामशरण कुमाल, हवल्दारहरु रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा, गोपी बहादुर लो तामाङ, जवानहरु शिव नारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रिता चौधरी, मनोज आल, छेक्यु डोल्मा मोक्तान र तारा बहादुर प्रजा तथा कार्यालय सहयोगी हरी बहादुर श्रेष्ठलाई पदबाट निलम्बन गर्न आज पत्र पठाईएको प्रवक्ता प्रदीपकुमार कोईरालाले बताउनुभयो ।

गत पुस ११ गते केरुङबाट नेपाल आउँदै गरेको ना ६ ख ४९३२ नम्बरको कन्टेनरको चालक फुर्वा पासाङको साथबाट रहेको ४ सय २२ ग्राम सुन लिई गायब बनाएको अभियोग उनीहरुलाई लागेको छ । 

बरामद सुन भन्सार कार्यालयमा नबुझाई १६ जनाले आपसमा बाँडेको विषयमा अख्तियारले अहिले अनुसन्धान गरिरहेको छ । घटनाबारे अनुसन्धान भईरहेको अवस्थामा संलग्न व्यक्तिहरु पदमा बहाल रहँदा प्रमाण नष्ट गर्न सक्ने भन्दै आयोगले उनीहरुलाई निलम्बन गर्न सिफारिस गरेको प्रवक्ता कोइरालाले बताउनुभयो ।

इन्स्पेक्टर नेपालले सोही कार्यालयमा कार्यरत अन्य कर्मचारीसँग मिलेर आधा किलो तस्करीको सुन गायब गरेको विषयमा प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखाले पनि छानबिन गरेको थियो । सोही छानबिन समितिको प्रतिवेदनको आधारमा प्रहरी प्रधान कार्यालयले अख्तियारलाई थप अनुसन्धान गर्न भनेको थियो । 


प्रतिक्रिया