यती समूहका सदस्य नवाङ पुर्पक्षका लागि कारागार चलान

फाल्गुन १५, २०७६ | काठमाडौं

लागूऔषध खैरो हेरोइन सहित पक्राउ परेका यती समूहका सदस्य नवाङ पासाङ शेर्पा सहित चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

जिल्ला अदालत काठमाडौंले नवाङ सहित ओमबहादुर गुरुङ, सपना रायमाझी र राजन श्रेष्ठलाई पुर्पक्षका लागि कारागार चलान गर्न आज आदेश दिएको थियो । 

करीब १ ग्राम खैरो हेरोइन सहित उनीहरु गत माघ १८ गते स्वयम्भूबाट पक्राउ परेका थिए । नवाङ यति समूहका तत्कालीन अध्यक्ष स्वर्गीय आङछिरिङ शेर्पाका कान्छा छोरा हुन् । 

नवाङ पक्राउ परेको १ महिनासम्म पनि प्रहरीले घटना गुपचुप राखेको थियो । लागूऔषध मुद्दामा थुनछेक बहसका लागि जिल्ला अदालत काठमाडौं लगिएपछि मात्र घटना सार्वजनिक भएको हो ।

नवाङसँगै पक्राउ परेका अन्य व्यक्ति पनि लागूऔषध दुव्र्यसनी रहेका महानगरीय प्रहरी बृत्त स्वयम्भूका डीएसपी लालध्वज सुवेदीले बताउनुभयो । 

दुई वर्ष अघि सुनसरी प्रहरीले नवाङलाई हतियार सहित पक्राउ गरेको थियो । २ थान अटोमेटिक पेस्तोल र ३ राउन्ड गोली तथा खुकुरीसहित पक्राउ परेका नवाङ ८० हजार रुपैयाँ जरिवाना तिरेर रिहा भएका थिए ।  


प्रतिक्रिया