उदयपुरका सहायक वन अधिकृतसहित ६ जना पक्राउ

श्रावण २८, २०७७ | उदयपुर

सव–डिभिजन वन कार्यालय मैनामैनी उदयपुरका दुई सहायक अधिकृत सहित ६ जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । घूस लिएको अभियोगमा प्रहरी नियन्त्रणमा रहेका ६ वन कर्मचारीलाई आयोगको इटहरी कार्यालयले नियन्त्रणमा लिई अनुसन्धान थालेको हो । 

आयोगका प्रवक्ता तारानाथ अधिकारीले बुधबार जारी विज्ञप्ति जारी गर्दै सव–डिभिजन वन कार्यालय मैनामैनीका सहायक अधिकृत शिवनारायण यादव समेतले सेवाग्राहीसँग १७ हजार रुपैयाँ घूस उजुरी परेको जानकारी दिनुभयो ।

उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले घूस सहित कर्मचारीलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सहायक वन अधिकृत यादव, सव–डिभिजन वन कार्यालय लालबजार रामपुरका सहायक वन अधिकृत विनोद कुमार साह, फोरेष्टर रमेश राई, फोरेष्टर विशेश्वर चौधरी, वन रक्षकद्वय शैलेन्द्र झा र मनोज कुमार राउत छन् । 

उनीहरुलाई इलाका प्रहरी कार्यालय रामपुरले मंगलबार नै आयोगको कार्यालय इटहरीमा बुझाएको थियो । निन्त्रणमा रहेका ६ कर्मचारीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । 

अख्तियारको नियन्त्रणमा रहेका वन कर्मचारीले सप्तकोशी नदीले बगाएर ल्याएको काठ निकालेर चिरेको आरोपमा बेलका नगरपालिका–३ चिलिया टप्पुका एक स्थानीयसँग १७ हजार रुपैयाँ घूस लिएको आरोप छ । 


प्रतिक्रिया