मोरङमा निषेधाज्ञा अवधि थपियो

भाद्र २२, २०७७ | मोरङ

मोरङमा निषेधाज्ञा अवधि थपिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार मध्य रातिदेखि भदौ २८ गते मध्य रातिसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाद्वारा जारी विज्ञप्तिमा जिल्लाभर निजी सवारी साधन सञ्चालन गर्दा जोर बिजोर नम्बर अनुसार सञ्चालन गर्नुपर्ने सूचनामा जनाइएको छ । सवारी साधन चलाउँदा स्वास्थ्य सम्बन्धि मापदण्ड पनि पालना गर्नुपर्ने भनिएको छ ।

पसल व्यवसायहरु साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । औषधि पसलहरु भने नियमित सञ्चालन गर्न सकिने जनाइएको छ । यसअघि स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गरेर दिउँसो ४ बजेसम्म बजार पसल खोल्न पाइने गरी आदेश दिइएको थियो । विराटनगरमा कोरोना भाइरसबाट संक्रमित हुने दिनहुँ थपिइरहेका छन् ।

यसअघिको निषेधाज्ञा आदेशमा दिउँसो १२ बजेसम्म बजार पसल खुल्न पाउने भनिएको थियो । त्यसपछि थप गरिएको अवधिमा भदौ १६ गते ४ बजेसम्मका लागि पसल व्यवसाय खुल्न दिने निर्णय गरिएको थियो ।

उक्त अवधिमा सैलुन, ब्यूटीपार्लर, हाट, कभर्डहल, जिमखाना लगायत खोल्न नपाइने भनिएको छ ।

यस्तै राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिंडडुल गर्न नपाउने, अत्यावश्यक काम बाहेक १० बर्षमुनि तथा ६० बर्ष माथिका व्यक्तिलाई घरबाहिर निस्कन नदिने पनि भनिएको छ ।

होटल तथा रेष्टुटेण्टले अनलाइन अर्डर र होम डेलिभरी गर्न सक्ने साथै ग्राहक स्वयंले लिएर जान सक्ने ’टेक अवे’ गर्न सकिने सूचनामा जनाइएको छ ।

सो अवधिमा मेला तथा पर्व, हाटबजार, महोत्सव तथा भेला र सामूहिक गतिविधि गर्न नपाइने भनिएको छ ।


प्रतिक्रिया