‘अपरेसन रिचार्ज कार्ड’ले मोटरसाइकल चोरीका गिरोह पक्राउ

कार्तिक ४, २०७७ | भक्तपुर

महानगरीय प्रहरी वृत्त थिमीले ‘अपरेसन रिचार्ज कार्ड’ मार्फत मोटरसाइकल चोरीका गिरोहलाई पक्राउ गरेको छ । वृत्त प्रमुख डीएसपी ऋषिराम कंडेलका अनुसार चोरीका ४ मोटरसाइकल सहित चोरीमा संलग्न ३ जना पक्राउ परेका हुन् । 

सोमबार बिहान मध्यपुर थिमि नगरपालिका–३ कौशलटारस्थित रोहन पराजुलीको घर अगाडि पार्किङ गरी राखेको लु ६३ प ७०७४ नम्बरको मोटरसाइकल हरायो । मोटरसाइकल चालकले प्रहरीलाई खबर गरे । प्रहरीले खोजी सुरु गरे । 

चोरी भएको ठाउँ नजिकै एक जना शंकास्पद व्यक्तिले मोबाइलमा रिचार्ज गरेको र सोही समयमा नै मोटरसाइकल हराएको भन्ने एकीन हुनासाथ उक्त स्थानमा फेला परेको रिचार्ज कार्डलाई आधार मानेर प्रहरीले ‘आपरेसन रिचार्ज कार्ड’ अनुसन्धान सुरु गरे ।

सोही अनुसन्धानको क्रममा रामेछापको ठोसे घरभई मध्यपुर थिमी बोडे बस्ने १८ वर्षीय अरुण तामाङ, दोलखा भिमेश्वर नगरपालिका–४ का २२ वर्षीय महेश तामाङ र सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ घरभई काठमाडौं मुलपानी बस्ने २९ वर्षीय मनोज लामा चोरीका मोटरसाइकल सहित पक्राउ परेको डीएसपी कंडेलले बताउनुभयो । 

उनीहरुको साथबाट परिवर्तित नम्बर प्रदेश ३–०२–०१७ प ६१६७ राखिएको लु ६३ प ७०७४ नम्बरको मोटरसाइकल, प्रदेश ३–०३–०१० प १५६७ नम्बरको मोटरसाइकल, प्रदेश ३–०२–०१८ प ४७४१ नम्बरको मोटरसाइकल र प्रदेश ३–०२–००३ प ३८३५ नम्बरको मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ । 

रिचार्ज कार्ड प्रयोग भएको फोन नम्बरलाई आधार बनाई अनुसन्धान गर्दा सोमबार दिउँसो मध्यपुर थिमी–२ मगरगाउँस्थित साजन न्यौपानेको घर अगाडि पार्किङ गरी राखेको प्रदेश ३–०२–००३ प ३८३५ नम्बरको मोटरसाइकल पनि चोरी भएको सूचना प्रहरीमा आएको थियो । 

चोरीका दुबै घटनालाई समानान्तर अनुसन्धान गर्दै जाने क्रममा मध्यपुर थिमी–८ स्थित बोडेस्थित गार्मेन्टको अगाडि सडकमा लु ६३ प ७०७४ नम्बरको मोटरसाइकल नम्बर परिवर्तन गरेको अवस्थामा फेला परेको उहाँले बताउनुभयो ।

लु ६३ प ७०७४ नम्बरको मोटरसाइकलको नम्बरमा परिवर्तित नम्बर प्रदेश ३–०२–०१७ प ६१६७ नं को प्लेट जडान गरिएको अवस्थामा फेला परेको थियो । सोही स्थानबाट अरुण तामाङलाई प्रदेश ३–०३–०१० प १५६७ नम्बरको मोटरसाइकल सहित पार्किङ गरी भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनीसँगको प्रारम्भिक अनुसन्धानको आधारमा महेश तामाङलाई बोडेस्थित उनकै डेराबाट प्रहरीले पक्राउ गर्‍यो । महेशलाई कार्यालयमा ल्याई रिचार्ज कार्ड बेच्ने पसलेबाट सनाखत गराउँदा सनाखत समेत भएको कंडेलले जानकारी दिनुभयो । त्यसपछि महेश तामाङको प्रारम्भिक अनुसन्धानको आधारमा चोरीमा संलग्न मनोज लामा पक्राउ परेका हुन् । 

मनोज लामा प्रदेश ३–०२–०१८ प ४७४१ नम्बरको मोटरसाइकल र महेश तामाङको प्रारम्भिक अनुसन्धानको आधारमा प्रदेश ३–०२–(००३ प ३८३५ नम्बरको मोटरसाइकल मध्यपुर थिमी–५ कमेरोटारबाट बरामद गरिएको डीएसपी कंडेलले बताउनुभयो ।


प्रतिक्रिया