ज्यान मार्ने उद्योगमा संलग्न ९ जना तुलसीपुरबाट पक्राउ

ज्यान मार्ने उद्योगमा दाङको तुलसीपुरमा पक्राउ परेकालाई शुक्रबार सार्वजनिक गर्दै प्रहरी । तस्बिर : दुर्गालाल केसी/रेडियो कान्तिपुर । 

कार्तिक १४, २०७७ | दाङ

ज्यान मार्ने उद्योगको मुद्दामा दाङको तुलसीपुरबाट ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले शुक्रबार सार्वजनिक गरेको हो । 

तुलसीपुर उपमहानगरपालिका–११ नवलपुरका ४५ वर्षीय कुमार विकको बाँया खुट्टाको पैतला छिनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर–१६ उत्तरकुरहरियाका २२ वर्षीय पवन चौधरी र तुलसीपुर–१० पड्डाका २४ वर्षीय अमृत चौधरी छन् । 

उनीहरुले कार्तिक १० गते राति तुलसीपुर–१० टरिगाउँस्थित भान्जाको विवाह भोजमा सहभागी भएर घर फर्कने क्रममा बाटोमा विकमाथि धारिलो हतियार प्रहार गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिव बहाहुर सिंहले जानकारी दिनुभयो । 

उनीहरुको साथबाट एक थान खुर्पा र घटनाका क्रममा लगाएका कपडा पनि बरामद भएको डीएसपी सिंहले जानकारी दिनुभयो । उनीहरुले विकको हात, ढाड र खुट्टामा धारिलो हतियार प्रहर गरेको प्रहरील जनाएको छ । 

घाइते विकको भारतको लखनउमा उपचार भईरहेको र अहिले अवस्था खतरामुक्त रहेको सिंहले जानकारी दिनुभयो । उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

यसैगरी, कार्तिक १० गते राति नै तुलसीपुर–१० गोलौरास्थित आशिष चौधरीको घरमा दशैंको नाचगान भईरहेको अवस्थामा स्थानीय दुर्गाप्रसाद चौधरीमाथि धारिलो हतियार प्रहार गरी फरार सात जनालाई पक्राउ गरेको डीएसपी सिंहले बताउनुभयो । 

पक्राउ पर्नेमा तुलसीपुरका–१० का ४२ वर्षीय सुशिल चौधरी, २२ वर्षीय विजय चौधरी, २३ वर्षीय अशोक चौधरी, १८ वर्षीय तिलक चौधरी, २१ वर्षीय सुनिल चौधरी, २८ वर्षीय पवन चौधरी र १९ वर्षीय आशिष चौधरी छन् । 

आपसी विवादका क्रममा ११ जनाले आक्रमण गरेकोमा अन्य फरार रहेको र उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको डीएसपी सिंहले जानकारी दिनुभयो ।


प्रतिक्रिया