कैलालीमा बसको ठक्करबाट एकको मृत्यु,स्थानीय र प्रहरीबीच झडप

चैत्र १०, २०७७ | टीकापुर

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्की चोकमा बसको ठक्करबाट मंगलबार बिहान एक महिलाको मृत्यु भएको छ । बसको ठक्करबाट लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको हो । 

धनगढीबाट टीकापुर जाँदै गरेको ना ७ ख ८८३३ नम्बरको बसले ठक्कर दिंदा देवकोटाको मृत्यु भएको हो । मृतकका आफन्त र स्थानीयले ट्राफिक प्रहरीको लम्की चोकमा राखिएको गोलघरमा आगजनी गरेका छन् भने ईलाका प्रहरी कार्यालयमा ढुङगा प्रहार गरेका छन् । 

प्रहरी कार्यालयमा ढुंगा प्रहार गरेपछि प्रहरी र स्थानीयबीच झडप समेत भएको छ । झडपमा स्थानीय र प्रहरी दुबैतर्फ केही घाइते भएको प्रहरी नायब उपरिक्षक मधुसुदन न्यौपानेले बताउनुभयो । इलाका प्रहरी कार्यालयमा ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास तथा फायरिङ्ग समेत गरेको जनाएको छ । 

प्रहरीको गोली प्रहारबाट भुपेन्द्र देवकोटा घाइते भएको र उनलाई उपचारका लागि कोहलपुर लगिएको प्रहरीले जनाएको छ । देवकोटाको मृत्युपछि स्थानीयले ईलाका प्रहरी कार्यालय अगाडि शव राखेर प्रदर्शन गरिरहेका छन् । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


प्रतिक्रिया