रोल्पाको नुवागाउँमा अत्याधुनिक हतियारका गोली फेला

रोल्पाको त्रिवेणी–२ नुवागाउँको रामपुर नजिकैको जंगलमा लुकाइएको ठूलो मात्रामा हतियारलाई चाहिने गोली प्रहरीले शुक्रबार फेला पारेको छ । तस्बिर सौजन्य : रोल्पा प्रहरी  

जेष्ठ ९, २०७८ | रोल्पा

रोल्पाको त्रिवेणी गाउँपालिका–२ नुवागाउँको रामपुरस्थित जंगलमा लुकाई राखेको अवस्थामा ठूलो मात्रामा अत्याधुनिक हतियारका गोली भेटिएको छ । गोप्य सूचनाको आधारमा परिचालित प्रहरीले त्रिवेणी गाउँपालिका–२ नुवागाउँको रामपुर गाउँ नजिकै रहेको बाँसघारीमा प्लास्टिकमा बेरेर लुकाई राखेको अवस्थामा अत्याधुनिक हतियारमा प्रयोग हुने गोली फेला पारेको हो ।

रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बरामद प्लास्टिकका पोकाभित्र अत्याधुनिक हतियारका लागि चाहिने गोली भेटिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सूचना पाएपछि सुरक्षाकर्मी त्यहाँ पुगी खोज्दा पोका गोली राखेर खोल्सामा लुकाइएको अवस्थामा फेला पारिएको हो ।’ 

उहाँका अनुसार फेला पारिएका हतियारमा एम–१६ हतियारको गोली १ थान, एसएमजी हतियारको २३ थान गोली र एलएमजी हतियारको गोली १ थान गरी २५ थान गोली फेला परेको हो । यस्तै ७ दशमलव ६२ एमएम म्याग्जिनको २ सय ८ राउण्ड गोली, एके ४७ म्याग्जिनको ७ सय ५२ साउण्ड गोली र ९ एमएम को १० राउण्ड गोली समेत फेला परेको प्रहरीले जनाएको छ । 

बरामद हतियार हालसालै लुकाइएको हुन सक्ने भन्दै यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सो स्थान नजिकै नेपाली सेनाको गुल्म छ । तत्कालीन माओवादी लडाकुको पाँचौ शिविर रहेको दहवनको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले समेत ती स्थानमा सर्च गरेको थियो । 

रामपुर गाउँ नजिकको जंगलमा गत बैशाख पहिलो सातामा भीषण आगलागी भएको थियो । आगलागीमा परी नुवागाउँमा ५० वटा घर जलेर नष्ट भएका थिए । प्रहरीले सो घटना आसपास पहिले नै घरहरुमा कसैले लुकाएर राखेकोमा आगलागी नभएको जंगलमा पुन: लुकाएको आशंका गरेको छ । 

आगलागीबाट थुप्रै सामुदायिक वन जलेर नष्ट भएका थिए । शान्ति प्रक्रियापछि रोल्पामा थुप्रै स्थानमा ठूलो मात्रामा हतियार, गोली र बम समेत बरामद गरिएको छ । फेला पारिएका हतियार र गोलीगट्टा तत्कालीन सशस्त्र द्वन्द्वको अवधिमा सरकारी र विद्रोही पक्षले प्रयोग गर्न जम्मा गरेको आशंका गरिएको छ । रोल्पाको कुरेलीमा अतिल्लो वर्ष ठूलो संख्यामा फेला पारिएका हतियार नेपाली सेनाको हेडक्वाटरबाट आएको टोलीले बरामद गरी लिएको थियो ।


प्रतिक्रिया