जग्गा कीर्ते गर्ने भोटखोलाका वडाध्यक्ष सहित ७ जना सार्वजनिक

फाल्गुन २८, २०७८ | संखुवासभा

जग्गा कीर्ते गरेको अभियोगमा पक्राउ परेका संखुवासभाको भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष सहित ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जग्गा धनीलाई झुक्याएर जग्गा रजिष्ट्रेसन पास गरेको आरोपमा पक्राउ परेका भोटखोला–४ का वडाध्यक्ष किङ्साङ भोटेसहित ७ जनालाई प्रहरीले शनिबार सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा भोटखोला–४ का वडाध्यक्ष भोटे, सुरेन्द्र तामाङ्, कल्पना भोटे, डिमालाजुङ् भोटे, अनिस गुरुङ्, पासाङ् शेर्पा र महेन्द्र पराजुलीलाई सार्वजनिक गरेको हो । 

संखुवासभाका डीएसपी लालध्वज सुवेदीका अनुसार वडाध्यक्ष किङ्साङ भोटे र मालपोत कार्यालयका नायब सुव्वा महेन्द्र पराजुली समेतको मिलोमतोमा बिममाया तामाङ्को २७ रोपनी जग्गा अरुकै नाममा फागुन २ गते रजिस्ट्रेसन पास गरिएको थियो । 

वडाध्यक्ष भोटे गत स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका हुन् । उनीहरुले अपर अरुण जलविद्युत आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीय वृद्धालाई ललाईफकाई गरेर रजिष्ट्रेसन पास गरेको अनुसन्धानबाट खुलेको छ । 

मुआब्जा भित्र पर्ने २७ रोपनी जग्गा एक लाख रुपैयाँ दिएर पास गरेको पाइएको डीएसपी सुवेदीले जनाकारी दिनुभयो । पक्राउ परेकाविरुद्ध ठगी र कीर्ते मुद्दा चलाउने संखुवासभा प्रहरीले जनाएको छ ।


प्रतिक्रिया