चोरीको सामानसहित पर्साबाट एक भारतीय नागरिक पक्राउ

माघ २५, २०७९ | पर्सा
चोरीको सामान सहित पर्साबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार जिल्ला सितामढी ग्राम–६ घर भई हाल वीरगञ्ज महानगरपालिका–१३ बस्ने २० वर्षीय राजु आलम भन्ने फैयाज आलम छन् ।
उनलाई प्रहरीले सोमबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । माघ ७ गते दिउँसो १ बजेतिर वीरगञ्ज–१२ का ५५ वर्षीय कपिल प्रसाद रौनियारको घरबाट नगद तथा गरगहना लगायत जिन्सी चोरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनामा रौनियारको घरबाट एक लाख रुपैयाँ नगद तथा गरगहना र अन्य सामान ११ लाख १० हजार गरी १२ लाख १० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको थियो ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक डिल्लीराज सापकोटाको कमाण्डमा अनुसन्धान अधिकृत सहितको टोलीले वीरगन्ज–१३ बाट आलमलाई नियन्त्रणमा लिइ प्रारम्भिक सोधपुछ गरेको थियो ।
सोधपुछका क्रममा आलमले रौनियारको घरमा चोरी गरेको बुझिन आएपछि प्रहरीले उनको डेरा कोठाको खानतलासी लिएको थियो । त्यस क्रममा चोरी भएको दशीको सामान, २ थान एलइडी र १ थान क्यामेरा तथा अन्य गरगहना बरामद भएको थियो ।