बर्दियाका स्थानीय तहमा “पढाइ कुना”

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २१, २०७९ | बर्दिया

स्थानीय तह र गैरसरकारी संस्थाको समन्वयमा बर्दियाका बारबर्दिया, मधुवन, राजापुर ठाकुरबाबा, गुलरिया र गेरुवामा विद्यार्थीको सिकाइ स्तर वृद्धि गर्न झण्डै तीन सय घरमा “पढाइ कुना” निर्माण गरिएको छ । आर्थिक रुपमा विपन्न परिवारका बालबालिकाको सिकाइमा सहयोग गर्न अन्तराष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनल र स्याक नेपालको सहजीकरणमा नयाँ प्रविधिको शैक्षिक कार्यक्रम शुरु गरिएको हो । सिकाइ परियोजनाका प्रमुख लक्ष्मीप्रसाद शर्माले विद्यार्थीको सिकाइ स्तर कमजोर भएका परिवारमा अभिभावक शिक्षा कार्यक्रममार्फत अभिभावकबाटै उनीहरुको बालबालिकाको सिकाइ सुधार गर्न आफूहरुले सहयोग गरेको बताउनुभयो ।

 त्यस्तै, ती स्थानीय तहका २५ वटा विद्यालय वरपरका समुदायमा कक्षा १ देखि ३ सम्मका सिकाइ स्तर न्यून भएका र आर्थिक रुपमा विपन्न दलित समुदायका ७ हजार बालबालिकाका लागि सिकाइ केन्द्र समेत सञ्चालन गरिएको छ । परियोजनाबाट पूर्व प्राथमिक तहमा नमूना कक्षाकोठा बनाउने, प्रविधि मैत्री सिकाइको व्यवस्था गर्ने तथा स्थानीय पाठ्यक्रम निर्माण लगायतमा सहयोग गरिरहेको परियोजना प्रमुख शर्माले जानकारी दिनुभयो । 


प्रतिक्रिया