गर्मीले फेरिएको दिनचर्या

मोरङको जहदा गाउँपालिकाकी महिला घाँस काटेर फर्किने क्रममा रुखको छहारीमा बसेर आराम गर्दै ।तस्बिर : देवनारायण साह/कान्तिपुर 

जेष्ठ २२, २०८० | मोरङ

सधैं बिहान उठेर चुल्हो चौकाको काम गर्दै आएकी विराटनगर–१४ जतुवाकी ४७ वर्षीया गीता देवी यादवको दैनिकी केही दिनदेखि बढेको गर्मीले फेरिएको छ । उनी अचेल बिहान उठेर गाईबस्तु लिएर खेतबारीको काममा जाने गरेकी बताइन् । ‘यसअघि बिहान खाना पकाएपछि छोराछोरीसहित सबै जना खाना खाएर मात्रै गाईबस्तु लिएर खेतबारी जान्थेँ,’ उनले भनिन्, ‘गर्मी बढेदेखि बिहान उठेर नै चौपाया लिएर खेतबारीको काममा जाने गरेको र १० बजेपछि घर फर्किसक्छु ।’ बिहानको १० बजे नकट्दै हुने गरेको उग्रगर्मीले गाईबस्तु, बाख्रा पनि नचर्ने र खेतबारीको काम पनि गर्न नसक्ने भएकाले अहिले दिनचर्यामा परिवर्तन आएको उनले सुनाइन् ।

खेतबारीको काम सकेर आएपछि मात्रै खाना पकाएर खाने र दिउँसो घरको काम गर्ने गरेको बताइन् । यादवले गर्मी बढेर अहिले छोराछोरीको विद्यालय बन्द भएकाले बिहानै खाना पनि पकाउनै पर्ने बाध्यात्मक अवस्था नभएको बताइन् ।

स्थानीय ७० वर्षिया भूर्ति देवी यादवले पनि पाको उमेरमा पनि गाईबस्तुका लागि घाँस काट्न बिहानै जाने गरेकी छन् । उनले घाम चर्को हुञ्जेलसम्ममा घाँस लिएर घर फर्किने गरेको बताइन् । उनले ५३ सालपछि पहिलो पल्ट यस वर्ष यति धेरै गर्मी महसुस भएको बताइन् ।

उनीहरु झै कोशी प्रदेशका सुनसरी, मोरङ, झापाका ग्रामिण क्षेत्रका बासिन्दाको दैनिकीमा गर्मीले उथलपुथल ल्याएको छ । बिहानै उठेर गाई, भैंसी, बाख्रा चराउनुका साथै खेतबारी लगायतको काममा जाने र घाम चर्को हुने बेलासम्ममा फर्केर घर आइपुग्छन् । उनीहरुले कामबाट घर आएपछि नुहाएर खाने र बर पिपलको चौतारो, बगैंचा जस्ता शतिलता प्राप्त हुने र हावा चल्ने ठाउँमा बसेर गर्मी छल्ने गरेका हुन् । दिउँसो ४ बजेपछि मात्रै पुनःकाममा जान्छन् ।

ग्रामिण क्षेत्रका बासिन्दा गर्मी छल्न र त्यसबाट कुनै किसिमको रोग लाग्न नदिन घाममा काम गरेर आएपछि केहीबेर आराम गरेर मात्रै पानी खाने, बिहान काम गर्ने र चर्को घाम भएको बेला घर भित्र वा छहारीमा हावा आउने ठाउँमा बस्ने, कागती, चिनी, पानीको सर्वत खाने, दही, दुध खाने गर्छन् ।

स्थानीय ७५वर्षीया दशरथ यादवले गर्मीबाट जोगिन बालबालिका र वृद्धवृद्धालाई घर बाहिर निस्किन नदिने, परिवारका अन्य सदस्यले बिहानै काम गर्ने र दिउँसो घरमा आराम गर्ने परम्परा रहेको बताए । ‘गर्मीको समयमा रोग लाग्न नदिन धेरै पानी खाने, दैनिक स्नान गर्ने, कागती, चिनी, पानीको सर्वत, दहीको लस्सी, दुध खाने गरेका छौं,’ उनले भने, ‘खानपानमा ध्यान दिने र आफ्नो घरमा दुहुना गाई भैंसी नहुनेले किनेर भएपनिगर्मी मौसम भरि दुध दही खाएपछि रोग लाग्नबाट जोगिन्छ ।’

घामबाट आउने बित्तिकै चिसो पानी खाँदा रुघा, ज्वरो लाग्ने हुनाले एकछिन आराम गरेर मात्रै पानी खाने गाउँको परम्परा नै रहेको यादवले सुनाए । उनले गर्मी भरि अपच हुने, पेट दुख्ने बस्तु नखाने गरेको बताए । यस प्रदेशका शहरी क्षेत्रका बासिन्दाहरु चर्को गर्मीले १२ बजेपछि दिउँसो ३ बजेसम्म घर बाहिर ननिस्किँदा बजार, पसल सुनसान हुन्छ ।

गर्मीका कारण व्यापार घटेको छ । सिटी रिक्सा चलाएर परिवार पाल्दै आएका जहदा गाउँपालिका–४ का ४६वर्षिय सियाराम मुखियाले गर्मीका कारण अहिले दैनिक ५ सय रुपैयाँ घाटा लाग्ने गरेको गुनासो पोखे । ‘पहिले न्यूनतम एक हजार आमदानी हुने गरेकोमा गर्मी बढेदेखि ५ सय मात्रै हुने गरेको छ,’ उनले भने, ‘बिहान १०/११ बजेपछि ३/४ बजेसम्म कोही घरबाट ननिस्किने गरेकाले यात्रु नभेट्ने गरेको हो ।’

विराटनगरमा किराना पसल सञ्चालन गर्दै आएका महेन्द्र साहले ग्राहक आइहाल्ने आशमा पसल खोलेर बस्न गरे पनि कडा घामले गर्दा साँझ ५ बजेपछि मात्रै ग्राहक आउने गरेकाले व्यवसाय चौपट भएको गुनासो पोखे । उनले गर्मी बढेदेखि २५ प्रतिशत पनि आमदानी नभइरहेको बताए । उनले दैनिक पसल चल्ने समयमा ६ घण्टा गर्मीले ग्राहक नआउँदा व्यापारको अवस्था के होला भनी प्रति प्रश्न गरे ।

गर्मी बढेदेखि यहाँका उद्योगहरुमा समेत उत्पादन घटेको छ । उद्योगमा मजदुरले गर्मीले काम गर्न नसकेकाले उत्पादन घटेको उद्योगी व्यवसायीले बताए । उनीहरुले एकातिर मजदुरले गर्मीका कारण काम गर्न नसक्ने र अर्कोतिर अघोषित लोडसेडिंगले विद्युत नहुँदा थप मार्काका परेको गुनासो पोखे ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले गर्मीले उद्योगमा काम गर्ने मजदुरको काम गर्ने क्षमतामा ह्रास आउनुका साथै विद्युत नियमित नहुँदा यहाँका उद्योगहरुमा उत्पादन घटेको बताए । अहिले नदी, खोलामा जलासय सुखेर विद्युत उत्पादनमा कमी आएको छ । प्रदेश उद्योग वाणिज्य महासंघका निर्देशक रेवतीरमण भण्डारीले गर्मी बढेदेखि यस प्रदेशको सुनसरी, मोरङ, झापाका उद्योग, व्यवसाय क्षेत्र प्रभावित भएको बताए ।

‘उद्योग भनेको त्यसै तातो निस्किने ठाउँ र त्यसमा थप ४० सेन्टिग्रेडको गर्मी थपिएपछि जस्तो सुकै मजदुर तथा प्राविधिकले काम गर्न सक्ने अवस्था नहुँदा उत्पादन घट्नु स्वभाविक हो,’ उनले भने, ‘त्यसमा पनि नेपाल विद्युत प्राधिकरणले दिनमा २५ पटक लाइन काट्ने गरेकाले पनि उद्योग व्यवसाय प्रभावित भएको छ ।’ उनले यस प्रदेशका तराईका जिल्लाहरुका बजार, व्यवसायमा अहिले २५ प्रतिशत पनि कारोबार नभइरहेको बताए । ‘बिहान १० बजेदेखि साँझ ५ नबजुञ्जेल ग्राहकै नआउँदा व्यवसायीको के चल्छ ?,’ उनले भने, ‘राती ८ बजेपछि स्थानीय प्रशासनले पसल चलाउन पनि नदिने गरेकोले १२ घण्टा चल्ने पसल अहिले मुश्किलले ६ घण्टा पनि नचलेको अवस्था छ ।’

चर्किएको गर्मीले यस प्रदेशका तराईका जिल्लाहरुको स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । कोशी अस्पतालका आकस्मिक वार्डका कामेश्वर साहले अहिले केही दिनदेखि बढेको गर्मीले बिरामीको चाप बढेको बताए । उनले पेट दुख्ने, वाक वाकी लाग्ने, बान्ता हुने, शरीरमा कमजोरी भएका, रुघा खोकी, झाडापखाला लगायतका बिरामीको संख्या बढेको सुनाए । उनले आकस्मिक कक्षमा मात्रै अहिले दैनिक उपचारका लागि ३ सय बढी बिरामी आउने गरेको बताए ।

गर्मी बढेदेखि यहाँका पालिकाहरुले एक सातादेखि विद्यालयमा विदा दिएर बन्द गरेका छन् । सुनसरी, मोरङ र झापाका विद्यालय एक सातादेखि बन्द रहेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले गर्मीबाट कुनै किसिमको क्षति हुन नदिन स्थानीय तहहरुसँग समन्वय गरेर अघि बढिरहेको बताए । उनले पालिकाहरुले बालबालिकालाई असर पर्न नदिनका लागि वर्षे विदाबाट कट्टाहुने गरी गर्मी विदा दिएको र गर्मीबाट जोगिन जनचेता मूलक काम गरिरहेको बताए ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयले गर्मीबाट कुनै किसिमको क्षति हुन नदिन जिल्ला विपद व्यवस्थापन समितिको बैठकले स्थानीय तहहरुलाई क्रियाशील बनाउन प्रमुख जिल्ला अधिकारीहरुसँग समन्वय गरेको छ । ‘यस प्रदेशका सुनसरी, मोरङ र झापामा गर्मीको प्रभाव परेकाले प्रमुख जिल्ला अधिकारी मार्फत पालिकाहरुसँग समन्वय गरेर रोकथाम, उद्धार लगायतको व्यवस्थापनमा छौं,’ आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित सचिव अर्जुन निरौलाले भने, ‘गर्मीले कुनै किसिमको क्षति हुन नदिन कोशी प्रदेश तयारी अवस्थामा रहेको छ ।’

विराटनगर महानगरपालिका–१४ जतुवास्थित चौतारामा बसेर गर्मी छल्दै स्थानीय । तस्बिर : देवनारायण साह/कान्तिपुर

प्रतिक्रिया