खैरो हेरोइन सहित रुपन्देहीबाट ४ युवक पक्राउ
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2023/third-party/aa-1690294942.jpg&w=700&height=600)
श्रावण ९, २०८० | तिलोत्तमा
लागूऔषध खैरो हेरोइन सहित रुपन्देहीको सालझण्डी बजारबाट ४ जना पक्राउ परेका छन् । सैनामैना नगरपालिका–१० सालझण्डी बजारबाट लागू औषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कञ्चन गाउँपालिका–५ बस्ने १८ वर्षीय प्रतिक थापा, सैनामैना–१० का २६ वर्षीय ‘पट’ भन्ने सुनिल थारु, सोही स्थानका २८ वर्षीय ‘जिसस’ भन्ने जित बहादुर दर्लामी र २५ वर्षीय ‘डीके’ भन्ने दिनेश कुमार पुन रहेका छन् ।
खैरो हेरोईनको कारोबार भईरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई सैनामैना–१० सालझण्डी बजारबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट ३२ थान पुडियामा गरी जम्मा २५६० मिली ग्राम लागु औषध खैरो हेरोईन फेला पारीएको प्रहरीले जनाएको छ ।