बुटवलमा विपन्न लक्षित कपडा बैंक सञ्चालन

फाल्गुन ६, २०८० | तिलोत्तमा

विपन्न र गरीब समुदायलाई सहज रुपमा कपडा उपलब्ध गराउने उद्देश्यले रुपन्देहीको बुटवलमा क्लोथ बैंक सञ्चालनमा आएको छ । 

शनिबार एक कार्यक्रमबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, नायक राजेश हमाल लगायतले क्लोथ बैंकको उद्घाटन गर्नु भएको हो । 

सो अवसरमा उपमहानगर प्रमुख पाण्डेयले क्लोथ बैंकमा जम्मा हुने कपडाले दुखी र विपन्न वर्गलाई न्यानो प्रदान गर्न सकिने बताउनुभयो । 

उपमहानगरपालिका सबै नागरिकप्रति सचेत भएको बताउँदै क्लोथ बैंक सञ्चालनपछि विपन्न र गरीब वर्गका लागि सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

क्लोथ बैंकले बुटवल नगरभित्रका विभिन्न उपयुक्त स्थानमा संकलन बक्स राख्नेछ र संकलित कपडालाई पुनः प्रशोधन गरेर आवश्यकताका आधारमा वितरण गरिने जनाएको छ ।

कार्यक्रममा महानायक राजेश हमालले समाज परिवर्तनका लागि युवा समूहले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै सो कार्यमा आफू संलग्न हुन पाउँदा खुसी लागेको बताउनुभयो । 

कुनै पनि व्यक्तिका लागि अनावश्यक कपडा अर्कोलाई आवश्यक पर्ने भएकाले क्लोथ बैंकमा जम्मा गरिदिन उहाँले सबैलाई आग्रह गर्नुभयो ।

क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जीसीले देशका सातै प्रदेशमा सञ्चालन हुन लागेको यो अभियानको बुटवलबाट औपचारिक शुभारम्भ भएको बताउनुभयो । 

अध्यक्ष जीसीले आगामी दुई वर्षमा देशका नागरिकलाई कपडाविहीन मुक्त बनाउने योजना रहेको सुनाउनुभयो । त्यस्तै, २०८२ सम्ममा देशभर फूड एम्बुलेन्स समेत सञ्चालन गर्ने योजना रहेको उहाँको भनाई छ । 

जीसीका अनुसार अहिलेसम्म १ सय ५४ स्थानीय तह यो अभियानमा जोडिएका छन् । केही दिन अघि मात्र बुटवल उपमहानगरपालिका र क्लोथ एण्ड फूड बैंक नेपालबीच क्लोथ बैंक सञ्चालन गर्ने सम्झौता भएको थियो ।


प्रतिक्रिया