चोरेर जम्मा गरेको सामानसहित पाल्पाबाट एक पक्राउ

असार ४, २०८१ | पाल्पा

चोरीको सामानसहित पाल्पाको बगनासकाली गाउँपालिका–२, पोखराथोकका अर्जुन कोइरालालाई प्रहरीले पक्राउ गरेको छ । कोइरालालाई बगनासकाली–२ पोखराथोकबाट बा. प्र. ०२–०४३ प २५६४ नम्बरको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको हो । 

उनको साथबाट सुनजस्तो देखिने चार थान गरगहना, एक थान केटीएम मोटरसाइकल, विभिन्न कम्पनीको तीन थान मोबाइल, चाँदीको एक थान औँठी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्ष्ँक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । 

कोइरालाको साथबाट एनसेलको ११ र एनटीसीका ९ थान गरी २० थान सिमकार्ड र १८ हजार ६ सय रुपैयाँ नगद बरामद गरेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका कोइरालाले गत जेठ १५ गते बेलुकी तानसेन नगरपालिका–१२, बौघापोखराथोककी नन्दकुमारी खत्रीले लगाएको दुई तोलाको सुनको सिक्री चोरी गरेर भागेको प्रहरीले जनाएको छ । खोजी गर्ने क्रममा कोइरालालाई पक्राउ गरेर अनुसन्धान अघि बढाउँदा थप सामान फेला परेको हो । 

जिल्लाका विभिन्न स्थानमा पछिल्लो समय चोरीका घटना बढेको थियो । तानसेन नगरपालिकाका साथै माथागढी, बगनासकाली लगायत स्थानमा सुनका गरगहना, घरमा भएका बहुमूल्य सामग्री चोरी बढेको थियो ।


प्रतिक्रिया