१२ खरी कथा प्रतियोगितामा कथाकार विष्णु पादुका प्रथम
मंसिर १६, २०८१ | काठमाडौं
छैटौँ संस्करणको १२ खरी कथा प्रतियोगिता अन्तर्गत डिशहोम १२ खरी कथा लेखन प्रतियोगितामा कथा ‘माग्युद् खोना’बाट कथाकार विष्णु पादुकाले प्रथम पुरस्कार जित्नुभएको छ।
‘कृत्रिम सपना’ बाट कथाकार प्रमेय भण्डारीले द्वितीय पुरस्कार र ‘मैले देखेको विद्यालय’ बाट कथाकार विवेक धिमालले तृतीय पुरस्कार प्राप्त गर्नुभयो । प्रथम,द्वितीय र तृतीय हुनेलाई क्रमशः १ लाख, ६० हजार र ४० हजार रुपैयाँ प्रदान गरिएको छ ।
कार्यक्रममा कथा प्रतियोगिताका विजेता घोषणासँगै २५ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा–२०८१’ पुस्तकको लोकार्पण समेत गरिएको छ । सो पुस्तक फाइनप्रिन्टले बजारमा ल्याएको हो ।
प्रतियोगितामा ९ सय ३७ कथा परेका थिए। त्यसमध्ये २५ उत्कृष्ट कथा छनोटमा परेको आयोजक १२ खरी मिडियाले जनाएको छ ।
उत्कृष्ट २५ कथाका कथाकारहरूमा अनिता पन्थी, अप्सना चौलागाईं, चेतनाथ आचार्य, जीतबहादुर कटुवाल, तोयम्, दीक्षित केसी, दुर्गा ढेंगा, देवेन्द्र खापुङ, ध्रुव अधिकारी, प्रमेय भण्डारी, भागवत खनाल, भूमिका थारू, मधुर भट्टराई, महेन्द्र महक, मिरमा, रमेशजंग थापा, राधिका कल्पित, ललिता दोषी, विमला तिवारी, बिवेक धिमाल, विष्णु पादुका, सपना अधिकारी, सुदिप चापागाईं, हर्कबहादुर लामगादे ‘रोहित’ र डा. हिमलाल श्रेष्ठ छन् ।