छावा फुटबलमा कुमारी बैंक विजयी

पुस १२, २०७४ | चितवन

 - चितवनको सौराहामा जारी १४ औं चितवन हात्ती महोत्सव अन्तर्गत आज भएको छावा हात्तीहरुबिचको फुटबल प्रतियोगितामा कुमारी बैंक विजयी भएको छ । कुमारी बैंकबाट सहभागी छावा हात्तीले मेगा बैंकलाई २–० ले हराउन सफल भए । यो संगै कुमारी बैंक फाईनल प्रवेश गरेको छ । 

कुमारी बैंकको सौराहा गज र राम गजले बललाई जाली चुमाउन सफल भए । दुवैले गोल गर्दा दर्शक दिर्घाबाट हुटिङ एकोहोरो आएको थियो । नतिजा प्रकाशन समितिका संयोजक दामोदर रेग्मीका अनुसार छावा फुटबलमा ४ वटा टिमको सहभागिता रहेको छ । बिहीबार प्रभु बैंक र सिजी फुड्सबीच प्रतिस्पर्धा हुने छ । बिहीबार हुने खेलको विजेताजसँग कुमारी बैंकले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।  

हात्तीपोलो प्रतियोगितामा एनआईसी एसिया बैंकले विजयी सुरुवात गरेको छ । एनआईसी एसियाले म्याक्स प्लाईलाई २ का विरुद्ध ७ गोलको फराकिलो अन्तरले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेको हो । 

एनआइसी एसियाका तर्फबाट ठगुवा पन्जियारले ह्याट्रिक गरे भने म्याक्स प्लाईका रन्जन भण्डारी र विनोद चौधरीले सान्त्वना स्वरुप १/१ गोल फर्काउन सफल भए । यो प्रतियोगितामा ६ वटा नेपाली टिमको सहभागिता रहेको छ । पोलो खेल हेर्न विदेशी दर्शकको समेत बाक्लो उपस्थिति रहेको थियो । हात्ती दौड प्रतियोगितामा भने विभिन्न प्रतिष्ठानबाट सहभागी ९ वटा हात्ती सेमिफाईनलमा प्रवेश गरेका छन् । 

स्थानीय बाघमारा मध्यवर्ति सामुदायिक वनको चौरमा ४ सय क्षेत्रीय होटल संघ नेपाल सौराहाको आयोजनामा जारी महोत्सव १५ गते सम्म चल्ने छ । 

 


प्रतिक्रिया