सिजी फुड्स, सौराहामा जारी छावा फुटबल प्रतियोगिताको फाइनलमा

पुस १३, २०७४ | चितवन

 -  सिजी फुड्स, सौराहामा जारी १४ औं चितवन हात्ती महोत्सव अन्र्तगत छावा फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फाईनल सिजी फुड्स र कुमारी बैंकबीच पर्सि शनिबार हुनेछ । बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा भएको प्रतियोगितामा सिजीका छावाले प्रभु बैंकबाट खेलेका छावालाई २–१ गोल अन्तरमा पराजित गर्दै फाईलन यात्रा तय गरे ।

प्रतियोगितामा सिजी फुड्सबाट सौराहा गज र अमलटारी गजले १/१ गोल गरे । सिजीका गोलरक्षक ईच्छाकलीले एक गोल आत्मघाती उपहार दिएको थियो । दुवै पक्षबाट ४/४ वटा छावा खेलमा सहभागी थिए । 

त्यस्तै आजै भएको हात्तीपोलो प्रतियोगितामा माउन्ट एभरेष्टले नाटालाई ४–३ को झिनो अन्तरले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा एभरेष्टका तर्फबाट चन्द्र तामाङले ह्याट्रिक गरे भने विश्व चौधरीको नाममा एक गोल रह्यो । नाटाका तर्फबाट ठगुवा पञ्जियारले हयाट्रिक गरेपनि जित भने दिलाउन सकेनन् ।

मेघा बैंक र नेपाल स्पोट्स कल्चर इन्टरनेशनलले भने २–२ गोलको बराबरी खेल्दै अंक बाढेका छन् । आयोजक क्षेत्रीय होटल संघ नेपाल सौराहाका अनुसार भोली ९ वटा हात्तीबीच दौड प्रतियोगिता हुनेछ । शनिबार हुने फाईलनका लागि ६ वटा हात्ती प्रवेश गर्ने छन् । 

 


प्रतिक्रिया