छावा फुटबलको उपाधि सिजीलाई

पुस १५, २०७४ | चितवन

 -  सौराहामा आयोजित १४ औं चितवन हात्ती महोत्सव अन्तर्गत आज भएको छावाहरुबीचको फुटबल प्रतियोगितामा सिजी फुड्सले उपाधि जितेको छ । सिजीले कुमारी बैंकलाई ३–० गोलेले हराउंदै उपाधि जित्न सफल भयो । सिजीका लागि कसरा गजले २ र अमलटारी गजले १ गोल गरे ।

हात्तीपोलो प्रतियोगिताको उपाधि भने माउन्ट एभरेष्ट गु्रपले हात पारेको छ । माउन्ट एभरेष्टले मेघा बैंकलाई ६–३ गोल अन्तरले हराउंदै उपाधि माथि कब्जा जमाउन सफल भएको हो । एभरेष्टका लागि चन्द्र तामाङले ४ र विसम्बर चौधरीले २ गोल गरे । मेघाको तर्फबाट ठगाहा पञ्जियारले २ र सन्तकुमार चौधरीले १ गोल गरेपनि जित निकाल्न सकेनन ।

तेश्रो स्थानका लागि भएको हात्ती पोलोमा नेपाल स्पोट्स कल्चर इन्टरनेशनल विजयी भएको छ । उसले एनआईसी एसिया बैंकलाई ६–३ गोल अन्तरले पाखा लगायो । हात्ती दौडमा भने टुरिजम बैंकबाट प्रतिनिधित्व गरेको लक्कीकली हात्तीले उपाधि जित्न सफल भएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा भएको दौड प्रतियोगिताबाट अन्य ५ हात्तीलाई पछि पार्दै लक्कीकलीले उपाधि जित्यो ।

दोश्रो स्थानमा हिमालय सोसल जर्नीबाट प्रतिनिधित्व गरेको एकताकली र कोकाकोला कम्पनीबाट प्रतिनिधित्व गरेको अनारकलीले तेश्रो स्थान हात पारे । क्षेत्रीय होटल संघ नेपाल सौराहाको आयोजना मंगलबारबाट सुरु हात्ती महोत्सव आजबाट सकिएको छ । 

 

 


प्रतिक्रिया