फाल्गुनन्द गोल्डकपको उपाधिका लागि छिमेकी जिल्ला भिडदै

पुस १५, २०७४ | पाँचथर

 -  पाँचथरमा जारी नवौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको भोलि हुने फाइनल खेलमा सुनसरी ११ र मोरङ ११ बीच प्रतिस्पर्धा हुंदैछ । दुवै समूहमा राष्ट्रिय स्तरको प्रतियोगितामा पटक/पटक प्रतिस्पर्धा गरेर बाजी मार्न सफल उत्कृष्ट खेलाडी समावेश रहेकोले रोचक, आकर्षक र प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्नेमा शंका छैन ।

विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई समेत पराजित गर्दै फाइनलमा पुगेका यी दुई समूह उपाधि नजिक छन् । मोरङ ११ ले तेश्रो क्वार्टफाइनलमा त्रिभुवन आर्मी क्लब र सेमिफाइनमा डिफेन्डिङ च्याम्पियन विर्तामोड झापालाई हराउंदै फाइनलमा पुगेको हो । सुनसरी ११ ले प्रिक्वाटर फाइनलमा डिभाइन ब्वाइज युनियन क्लब काठमाण्डौ, क्वार्टफाइनलमा सशस्त्र प्रहरी बल एपीएफ क्लब र सेमिफाइनलमा अग्नी रुपन्देहीलाई पराजित गर्दै फाइनलमा आइपुगेकाले कडा प्रतिस्पर्धा हुने राष्ट्रिय फुटबल च्याम्पियन गणेश लावतीले बताए । 

लामो समयपछि प्रतिस्पर्धामा सहभागी भएको सुनसरी ११ ले राष्ट्रिय टिमका उपकप्तान हेमन्त थापामगर, विष्णु सुनुवार, सौजन याक्खा लगायत ए डिभिजन क्लबका खेलाडी सहभागी गराएको छ । एक वर्षपछि पहिलो प्रतियोगितामा सहभागी भएकोले डिफेन्सिपमा काउन्टर एट््याक्टमा सफलता प्राप्त भएको सुनसरी ११ का प्रशिक्षक श्याम मानन्धरले बताए । उनले आइतबारको खेलमा पनि डिफेन्सिप खेल्ने रणनीतिमा रहेको बताए ।

विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई सुनसरीको दहुवीमा आयोजित दुहवी गोल्डकप, झापको दुधेमा आयोजित दुधे गोलड कप र फिदिममा क्वार्टफाइनलमा हराएकोले उत्साहित मोरङ ११ को समूहमा राष्ट्रिय टिमका दिपक राई, विदुर रिजाल, सूर्य अधकारी लगायत खेलाडी सहभागी छन् । एक महिना अघि पाँचथरको याशोकमा आयोजित प्रतियोगितामा आयोजक टिमबाट सहभागी भई एक लाख रुपैयाँको पुरस्कार जितेकाले उत्साहित रहेको मोरङ ११ का प्रशिक्षक मनिश तिम्सिनाले बताए ।

उनले मेहनत परिश्रम र अनुशासित खेलेको कारण आफूले सफलता पाउंदै गएकोले फाल्गुनन्द गोल्डकप फाइनलमा पनि दर्शकलाई उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए । साँघुरो खेल मैदानमा विभागीय टिमसित खेल्न निकै कठिन भएपनि मेहनतको कारण जीत हासिल गर्न सफल भएको उनले बताए । यी दुवै टिमले बलको खेलमा विभागी टिमलाई जटिल मानेका थिए ।

सातौं र आठौं फाल्गुनन्द गोल्ड कपको उपाधि जितिसकेको विर्तामोड युनाइटेड झापाका खेलाडी भने ओभर कन्फिडेन्ट भएकाले अन्तिम समयमा पराजित गर्न सफल भएको प्रशिक्षक तिम्सिनाले बताए । प्रतियोगितामा विजेतालाई तीन लाख रुपैयाँ र उपविजेतालाई दुई लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । 

 


प्रतिक्रिया