कर्णालीलाई पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश

वैशाख ९, २०७६ | रूपन्देही

अन्तिम खेलमा कर्णाली प्रदेशलाई २–१ ले हराउँदै विभागीय टिम नेपाल पुलिस क्लब आठौं राष्ट्रिय प्रतियोगितामा समूह बिजेता बन्दै सेमिफाईनल प्रवेश गरेको छ । बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा आइतबार भएको समूह ‘ख’ को प्रतियोगितामा पहिलो हाफ गोल रहित भयो ।

दोस्रो हाफको ४ मिनेटमै पुलिसका हरी कठायतले उत्कृष्ट गोल गरेका थिए । खेलको ५० औं मिनेटमा कर्णाली प्रदेशका खगेन्द्र खत्रीले जुदिप गुरुङको पासलाई गोलपोष्ट नजिकैबाटै जाली चुमाएपछि खेल बराबरीमा पुग्यो ।

प्रहरीको प्रदर्शन फितलो नै थियो । त्यसलाई कर्णाली प्रदेशका खेलाडीले अवसरमा परिणत गर्न भने सकेनन् । तीन उत्कृष्ट अवसर समेत गुमाए । तर, खेलको ६३ औं मिनेटमा पुलिसका क्याप्टेन सुमन सुवेदीले गोल गर्दै अग्रता दिलाए । प्रतियोगितामा ३ खेल जित्दै प्रहरी समूह बिजेता बनेको हो । प्रदेश २ सँग भने बराबरीमा खेलेपछि उसको खातामा १० अंक पुगेको छ ।

त्यस्तै, पहिलो खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबले पनि सुदूरपश्चिम प्रदेशसँग कमजोर खेल प्रदर्शन गर्‍यो । खेलमा दुबै टिम १–१ गोलको बराबरी खेले । आर्मीका लागि सन्तोष तामाङले खेलको १५ औं मिनेटमा पेनाल्टी सुटबाट गोल गरेका थिए ।

सुदूरपश्चिमका भागीराम चौधरीले आर्मीका भरत खवासलाई डिबक्स भित्रै लडाएपछि आर्मीले पाएको पेनाल्टीलाई तामाङले उत्कृष्ट सदुपयोग गरे । खेलको दोस्रो हाफको ६७ औं मिनेटमा सुदूरपश्चिमका प्रभुराज जोशीले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । बुटवलमा जारी फुटबलको समूह ‘ख’ बाट विभागीय टिम नेपाल पुलिस क्लब बिजेता बन्यो ।

आर्मीले भने २ खेल जित्दै १ खेल बराबरी खेलेर ७ अंक बटुल्दै उपविजेता बनेको छ । बिजेता दुबै टिम नेपालगन्जमा प्रदेश ५ र एपीएफसँग उपाधिका लागि भिड्ने छन् । समूह ‘ख’ मा सहभागी ५ टिम मध्ये प्रदेश २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन् । 


प्रतिक्रिया