प्रधानमन्त्री कप क्रिकेट : सशस्त्र र प्रदेश ३ विजयी

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १३, २०७६ | काठमाडौं

- सशस्त्र प्रहरी र प्रदेश ३ ले प्रधानमन्त्री कप एकदीवसीय क्रिकेट प्रतियोगितामा आज जित दर्ता गरेका छन् । सशस्त्रले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले र प्रदेश ३ ले प्रदेश ५ लाई ६ विकेटले हराए ।

मुलपानीस्थित मैदानमा प्रदेश ५ ले दिएको १ सय २५ रनको लक्ष्य प्रदेश ३ ले २१ दशमलव ५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । प्रदेश ३ का रित गौतमले ३७ र रविन जोशीले ३५ रनको योगदान गरे । इशान पाण्डे २१ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको प्रदेश ५ पारस खड्काको किफायती बलिङ सामू धरासायी भयो । खड्काले ४ र सूर्य तामाङले ३ विकेट लिएपछि प्रदेश ५ ४२ ओभरमा १ सय २२ रनमा अलआउट भयो । उसका सुवेन्दू पाण्डले सर्वाधिक २० रनको योगदान गरे । 

त्यस्तै कीर्तिपुरस्थित क्रि.वि त्रिकेट मैदानमा भएको खेलमा सशस्त्रले सुदूरपश्च्मि माथि सहज जित दर्ता गर्‍यो । सुदूरपश्चिमले दिएको १ सय २६ रनको लक्ष्य सशस्त्रले ३४ ओभर ४ बलमा ७ विकेटको क्षतिमा भेट्टायो । सशस्त्रको जितमा कप्तान पृथु बास्कोटाले अविजित ३२ रनको योगादान गरे । शरद भेषावकरले २६ र सन्दिप जोराले २२ रन जोडे । सुदूरपश्चिमका विनोद लामाले ३ विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३७ दशमलव १ ओभरमा १ सय २५ रनमा अलआउट भयो । लोकेश बलमे सर्वाधिक ३० र बीपिन रावलले २१ रन जोडे । सशस्त्रका अभिनाष बोहराले २ विकेट लिए । 

प्रतियोगितामा भोलि गण्डकी र प्रदेश ३ तथा त्रिभुवन आर्मी र कर्णाली प्रदेशबीच खेल हुनेछ ।  

 


प्रतिक्रिया