साग गेम र शहीद स्मारक लिगले बुढासुब्बा अनिश्चित

मंसिर १९, २०७६ | सुनसरी

पूर्व निर्धारित समय तालिका अनुसार बिहीबारदेखि बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करणको खेल नहुने भएपछि आयोजक धरान फुटबल क्लबले अनिश्चितकालिन रुपमा समय सारिएको जनाएको छ ।

मंसिर १९ गतेदेखि २८ गतेसम्म धरान रंगशलामा फुटबल प्रतियोगिता सञ्चालन गर्ने मिति तय भएको थियो । तर, आयोजक क्लबले नेपालमा १३ औं दक्षिण एसियाली खेलकुद सागसँगै धरानको उपनिर्वाचन भएकाले निर्धारित समयमा प्रतियोगिता सञ्चालन गर्न नसकेको जनाएको छ ।

समय सारिएको बताइए पनि कहिले सम्मलाई सारिएको हो, त्यो भने स्पष्ट नभएकाले अन्यौल पनि कायमै रहेको छ । आयोजक क्लबका अध्यक्ष किसोर राईले भन्नुभयो,  ‘यो वर्ष एन्फाले बनाएको क्यालेण्डर अनुसार मंसिरमै प्रतियोगिता गर्नका लागि सबै पूर्व तयारी गरेका थियौं । तर, साग गेम र उपनिर्वाचनसँगै मंसिर २८ गतेदेखि फागुन ५ गतेसम्म सहिद स्मारक लिगले अन्यौल सृजना गर्‍यो ।’ 

एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष समेत रहेका उहाँले बुढासुव्वा फुटवल प्रतियोगिताका लागि एन्फालाई पत्राचार गरेर अर्को खेल तालिका तय गरेर पठाइदिन आग्रह गरिएको बताउनुभयो । फागुन ५ गते यता बुढासुव्वा गोल्डकप आयोजना हुन नसक्ने भएकाले अर्को मिति चाँडै पठाइदिन भनेर एन्फालाई पत्र पठाएको राईले बताउनुभयो ।

क्लबका महासचिव प्रताप तामाङले यसपटक एन्फाले मोफसलका गोल्डकपलाई वर्गीकरण गरेर दिएको र सोही अनुसार गोल्डकपको तालिका बनाइएको बताउनुभयो । बुढासुब्बा गोल्डकप एन्फाको श्रेणीमा क वर्गमा रहेको छ । उहाँले भन्नुभयो, ‘मङ्सिर १९ देखि गर्ने भनेर एन्फाले नै मिति तोकिदिएको थियो, त्यही अनुसार तयारी पनि भइसकेको थियो ।’ 

यसपटक प्रतियोगिताका लागि १० वटा टिमहरू अन्तिम तयारीमा रहेका थिए । एन्फाले २ विदेशी टिमसँग समन्वय गरेको थियो । बाँकी ए डिभिजनका क्लबहरू समावेश गर्ने तयारी भएको महासचिव तामाङले बताउनुभयो । २२ औं संस्करणमा आइपुग्दा बुढासुब्बामा विजेताले १० लाख रुपैयाँ सहित ट्रफी र उपविजेताले नगद ५ लाख रुपैयाँ पाउने घोषणा समेत गरिएको थियो । 


प्रतिक्रिया