'लौह पुरुष' सिंहको नाममा बक्सिङ प्रतियोगिता हुने

फाल्गुन ४, २०७६ | काठमाडौं

कांग्रेस नेता गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता हुने भएको छ । गणेशमान सिंह फाउन्डेसनको आयोजनामा आगामी चैत १८ देखि २२ गतेसम्म प्रतियोगिता हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

काठमाडौंको बसन्तपुर डबलीमा आयोजना हुने प्रतियोगितामा महिलातर्फ ६ वटा र पुरुषमा ८ वटा तौल समूहमा स्पर्धा हुनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीको सहभागिता रहने फाउन्डेसन खेलकुद विभागका संयोजक सञ्जीव तुलाधरले जानकारी दिए ।

प्रतियोगिताका लागि सातै प्रदेशमा छनोट प्रतियोगितासमेत आयोजना गरिने भएको छ । जिल्लास्तरमा छनोट भएका खेलाडीले प्रादेशिक छनोटमा सहभागिता जनाउने प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताका हरेक तौल समूहका विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने खेलाडीले सात हजार पााच सय रुपैयाा प्राप्त गर्ने छन् । प्रतियोगिताका उत्कृष्ट पुरुष खेलाडीले मोटरसाइकल र महिलाले स्कुटर प्राप्त गर्नेछन् ।  


प्रतिक्रिया