बार्साको बराबरीले मेसीको ७ सय गोल छायाँमा

असार १७, २०७७ | काठमाडौं

लियोनेल मेसीले फुटबल करिअरमा ७ सयौं गोल गरेको दिन स्पेनीस ला लिगामा बार्सिलोना एट्लेटिको मड्रिडसँग २–२ गोलको बराबरीमा रोकिएको छ । 

गएराति घरेलु मैदानमा बराबरीको नतिजा निकालेपछि उपाधि होडमा रहेको बार्सिलानालाई गम्भीर धक्का लागेको छ ।

अंक तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर पनि उसले गुमायो । बराबरीपछि बार्सिलोनाको ७० अंक भएको छ । बार्साभन्दा एक खेल कम खेलेको शीर्ष स्थानको रियलको ७१ अंक छ । 

एट्लेटिको ५९ अंक सहित तेस्रो स्थानमा छ । डिएगो कोस्टाको आत्मघाती गोलसँगै बार्सिलोनाले १२ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो । 

साउल निगाजले १९ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई बराबरीमा पुर्‍याए । 

लियोनल मेसीले ५० औं मिनेटमा पेनाल्टीमा बार्सिलोनालाई २–१ गोलको अग्रता दिलाएका थिए । तर ६२ औं मिनेटमा निगाजले पेनाल्टीमा ब्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए ।

बार्सिलोनाका सर्वाधिक गोलकर्ता मेसीले क्लब र देशका लागि हिजो ७ सय गोलको कोशेढुङ्गा पार गरेका हुन् । मेसीले बार्सिलोनाका लागि ७ सय २४ खेलमा ६ सय ३० गोल पूरा गरे । 

ला लिगाकै अन्य खेलमा सेभियाले लेगानेसलाई ३–० ले हराउँदै शीर्ष चारको दौडमा आफूलाई कायम राखेको छ । 

मायोर्काले सेल्टा डी भिगोमाथि ५–१ को जित निकाल्दै रेलिगेशन जोनबाट बाहिर निस्किने प्रयास जारी राखेको छ । 


प्रतिक्रिया