तत्कालीन नेतृत्वका कारण तेक्वान्दो संघमा विवाद : सिलवाल

पुस २५, २०७७ | पोखरा

राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले तत्कालीन नेतृत्वका कारण तेक्वान्दो संघमा विवाद सिर्जना भएको बताउनु भएको छ । खेलकुद क्षेत्र अनेकतामा एकता रहेको र यसमा झगडाको बीउ रोप्न नहुने भन्दै उहाँले अब मिलाएर अघि बढाइने बताउनुभयो । 

प्रकाश समशेर राणा अध्यक्ष रहेको नेपाल तेक्वान्दो संघको वार्षिक साधारण सभाको शनिबार पोखरामा उद्घाटन गर्दै सिलवालले तेक्वान्दो संघको एकीकरणका लागि विवाद समाधानमा लागेको बताउनुभयो । 

राखेप उपाध्यक्षको संयोजकत्वमा विवाद समाधान समिति गठन भएर काम भइरहेको उहाँले बताउनुभयो । ‘विवाद समाधान गरी एकीकृत रुपमा ठूलो संघ बनाउने योजनामा छौ’ उहाँले भन्नुभयो, ‘मेरो कार्यकालमा सबै विवाद मिलाउनेछु ।’

सिलवाललै योग्यता, क्षमता र स्रोतले भेटेसम्म खेल पूर्वाधार र गतिविधिमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । ‘चाहिएको चीज दिन्छु तर रिजल्ट देखिने गरी काम गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘२ वर्षभित्र दोलखाको शैलुङमा हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टर सम्पन्न हुनेछ ।’ 

तेक्वान्दो संघले शैलुङमा हाइ अल्टिच्यूट ट्रेनिङ सेन्टर बनाउन जग्गा लिइसकेको छ । राखेपले मात्र सबै पूर्वाधार बनाउन नसक्ने भन्दै उहाँले अब पब्लिक, प्राइभेट, पार्टनरसीपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । खेललाई उत्पादनसँग जोडेर अर्थतन्त्रलाई उकास्नु पर्ने नभए कुनै पनि खेलकुदका संस्था निस्क्रिय हुने उहाँको भनाइ थियो ।

संघका महासचिव दीपराज गुरुङका अनुसार साधारण सभामा सांगठनिक संरचनालाई कसरी व्यवस्थित गर्ने, विधान संसोधन, हालसम्मको समीक्षा र भावी रणनीतिबारे छलफल भएको छ । खेलाडी र संस्थाको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । 

शैलुङको ट्रेनिङ सेन्टरलाई खेलकुद क्षेत्रको तीर्थस्थल र स्रोत केन्द्रको रुपमा विकास गर्ने उहाँले बताउनुभयो । सो अवसरमा सदस्य सचिव सिलवालसहित राखेपका नवनियुक्त सदस्यहरुलाई सम्मान गरिएको थियो । 

नेशनल हिरोबाट सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जन र सामाजिक हिरोबाट टेलिभिजन कार्यक्रम प्रस्तोता शुशिल पाण्डे र समाजसेवी नेहा पोखरेललाई सम्मान र पुरस्कृत गरिएको थियो । साधारण सभामा केन्द्रीय समिति, सातै प्रदेश र ३६ जिल्लाका प्रतिनिधि गरी १२५ जनाको सहभागिता थियो । 


प्रतिक्रिया