प्रधानमन्त्री कप क्रिकेट : कर्णाली र लुम्बिनी प्रदेशको पहिलो जित

माघ ६, २०७७ | काठमाडौं

लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगीतामा विजयी सुरुवात गरेको दिन कर्णाली प्रदेशले पहिलो जित हात पारेको छ ।

समुह बीको खेलमा लुम्बिनीले प्रदेश २ लाई ७७ रनले र समुह ए को खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ५ विकेटले पाखा लगाए ।

कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा लुम्बिनीले दिएको २ सय ५८ रनको लक्ष्य पछ्याएको प्रदेश २, ४२ ओभर ४ बलमा १ सय ८० रनमा अलआउट हुन पुग्यो । ७ जनाले दोहोरो अंक छुन नसकेको प्रदेश २ को इनिङ्समा विवेक यादवले ५१ र सुधिर चौधरीले ४२ रन बनाए । लुम्बिनीका लागि अनिल खरेलले ४ विकेट लिए ।

यसअघि किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रनको योगफल तयार पारेको हो । सन्दिप रजालीले ८३ रन बनाएको लुम्बिनीको ईनिङसमा सौरभ खनालले ५६ रन बनाए । प्रदेश दुईका हरिशंकर शाहले ३ विकेट लिए ।

मुलपानी क्रिकेट मैदानमा गण्डकीले दिएको २ सय ५ रनको लक्ष्य कर्णालीले ३६ ओभर ५ बलमा ५ विकेट गुमाएर भेट्टायो । कर्णालीलाई पहिलो जित दिलाउने क्रममा हिमांशु शाहीले नटआउट ६८ रन बनाए । यस्तै विपिन रावलले ४९ रनको योगदान गरे । विपिन खत्रीले ४ विकेट लिएपनि गण्डकीलाई हारबाट भने बचाउन सकेनन् ।

पहिला ब्याटिङ गरेको गण्डकीले ४२ ओभर ३ बलमा अलआउट हुँदै २ सय ४ रन बनाएको थियो । उसका लागि राहुल उपाध्ययले सर्वाधिक ५३ र र अर्जुन कुमालले ४६ रन बनाए । कर्णाली प्रदेशका दिनेश अधिकारीले ३ विकेट लिए ।

लिगमा भोली नेपाल पुलिस क्लब र सुदुरपश्चिम प्रदेश तथा त्रिभुवन आर्मी क्लब र प्रदेश एकबीच खेल हुनेछ ।


प्रतिक्रिया