पीएम कप क्रिकेटमा आर्मी क्लबले लगातार तेस्रो जित हात पार्दा पुलिसको पहिलो जित

माघ ७, २०७७ | काठमाडौं

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित हात पारेको दिन डिफेण्डिङ च्याम्पियन नेपाल पुलिस क्लबले पहिलो जित दर्ता गरेको छ । आर्मीले प्रदेश एकलाई ४ विकेटले पराजित गर्दा पुलिसले सुदुर पश्चिम प्रदेशबिरुद्ध ९ विकेटको फराकिलो जित दर्ता गर्‍यो । सुदुर पश्चिमको यो लगातार दोस्रो हार हो भने लगातार तेस्रो खेलमा पराजित प्रदेश १ एक खेल अगावै लिग चरणबाटै बाहिरिएको छ ।

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा प्रदेश एकले दिएको १ सय ३२ रनको लक्ष्य आर्मीले २९ ओभर ५ बलमा ६ विकेटको क्षतिमा भेट्टायो । उसको जितमा रोहित पौडेलले ३६ रनको योगदान गरे ।

यसअघि विवेक मेहताले अर्धसतक बनाएपनि प्रदेश एक ४० ओभर एक बलमा १ सय ३१ रनमा अलआउट भएको थियो । फिरदोस अन्सारीले ३२ रन जोडेका थिए ।

यस्तै समुह बी अन्तरर्गतको खेलमा पुलिस क्लबले सुदुर पश्चिम प्रदेशमाथि ९ विकेटको फराकिलो जित दर्ता गर्‍यो । कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा आज भएको खेलमा सुदुर पश्चिमले दिएको १ सय ११ रनको सामान्य लक्ष्य पुलिसले १७ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टाएको थियो । उसको जितमा सुनिल धमलाले ५३ र कुशल भुर्तेलले नटआउट ५१ रन बनाए । यसअघि पहिला व्याटिङ गरेको सुदुर पश्चिम ३३ ओभर एक बलमा १ सय १० रनमा अलआउट भएको थियो । खडक बोहोराले ४० र सञ्जु धामीले ३५ रन बनाएपनि अन्य व्याट्सम्यान चल्न नसक्दा सुदुर पश्चिम सस्तैमा समेटियो । दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान ४ विकेट लिए ।

लिगमा भोली पुलिस क्लब र लुम्बिनी प्रदेश तथा एपीएफ र गण्डकी प्रदेशबीच खेल हुनेछ ।


प्रतिक्रिया