पोखरामा २७ गतेदेखि महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने

माघ १२, २०७७ | पोखरा

पोखरामा आगामी २७ गतेदेखि राष्ट्रियस्तरको महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना गर्न लागेको टाइगर कप आमन्त्रित प्रतियोगिता फागुन १ सम्म चल्नेछ । 

प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी, नेपाल प्रहरी र न्यू डायमन्ड एकेडेमी र पुरुषतर्फ सशस्त्र प्रहरी, त्रिभुवन आर्मी, नेपाल प्रहरी र गण्डकी प्रदेश टीमको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । 

राउन्ड रोविन सिंगल लिगको आधारमा खेलाइने प्रतियोगितामा प्रथम हुने महिला र पुरुष टीमलाई समान डेढ लाख रुपैयाँ, मेडल ट्रफी र प्रमाणपत्र दिइने टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले बताए ।

 यसैगरी द्वितीय टीमलाई ७५ हजार रुपैयाँ, मेडल ट्रफी र प्रमाणपत्र, तृतीयलाई ३५ हजार रुपैयाँ, मेडल ट्रफी र प्रमाणपत्र दिइनेछ । सान्तवनातर्फ दुबै टीमलाई १५/१५ हजार रुपैयाँ दिइने पत्रकार सम्मेलनमा जनाइयो । 

महिला र पुरुषतर्फका सर्वोत्कृष्ट खेलाडीलाई जनही २०/२० हजार रुपैयाँ, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, डिफेन्डर र स्पाइकरलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।प्रतियोगिताका लागि २५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ ।

 ३० लाख रुपैयाँ आम्दानी भएर ५ लाख रुपैयाँ बचत हुने अध्यक्ष शर्माले बताए । बचत रकम सामाजिक क्षेत्र र खेल तथा खेलडीको सहयोगमा खर्च गरिने उनको भनाइ छ । प्रतियोगिताको लिग चरणको खेलका लागि एक सय रुपैयाँको टिकट, सेमिफाइनलको डेढ सय र फाइनलको २ सय रुपैयाँ टिकट तोकिएको छ । 

नेपाल भलिबल संघको समन्वय, पश्चिमाञ्चल भलिबल संघको व्यवस्थापन, राष्ट्रिय खेलकुद परिषद्को संयोजनमा हुने प्रतियोगितालाई पोखरामा महानगरपालिका र सफल दूधले सहयोग गरेका छन् ।


प्रतिक्रिया