धरान रनको उपाधि गजेन्द्र र सन्तोषीलाई

फाल्गुन ८, २०७७ | सुनसरी

सुनसरीको धरानमा शनिबार सम्पन्न प्रभु बैंक ‘धरान १० के रन’ मा पुरुषतर्फ नेपाली सेनाका गजेन्द्र राई प्रथम भएका छन् । महिलातर्फ सशस्त्र प्रहरीकी सन्तोषी श्रेष्ठ प्रथम भएकी छन् । प्रतियोगितामा नेपाली सेनाका गजेन्द्र राईले निर्धारित १० किलोमिटरको दूरी ३२ मिनेट २१ सेकेण्डमा पूरा गरेका थिए । उनले ५० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

नेपाली सेनाकै टंकबहादुर कार्कीले ३३ मिनेट ५४ सेकेण्डमा दूरी पार गर्दै द्वितीय र जितेन्द्र दनुवारले ३४ मिनेटमा दूरी पूरा गर्दै तेस्रो भए । उनीहरुले क्रमश : ३० र २० हजार रुपैयाँ प्राप्त गरे । महिलातर्फ सन्तोषीले ३८ मिनेट १० सेकेण्डमा दूरी पार गर्दै प्रथम भइन् । उनले ५० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् । आठौं साफ गेम्सका स्वर्ण पदक विजेता समेत रहेकी श्रेष्ठले धरान रनमा ह्याट्रिक गरेसँगै ऐतिहासिक बन्यो । 

भोजपुरकी छविमाया राईले ४२ मिनेट ७ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै द्वितीय र जुम्लाकी वन्दना बुढा तृतीय भईन् । उनीहरुले क्रमश: ३० हजार र २० हजार रुपैयाँ प्राप्त गरिन् । विजेताहरुलाई धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, पूर्व मिस नेपाल मलिना जोशी, माउण्ट के टू आरोहरण दलका नेता निर्मल पुर्जा लगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए । 

सो अवसरमा धरान रनले रनर अफ द इयरको पुरस्कार पुरुषतर्फ इन्डिस राई र महिलातर्फ छेन्वी राईलाई प्रदान गरेको थियो । पुरस्कार वितरणकाबीच पाकिस्तानमा रहेको विश्वको दोस्रो उच्च शिखर माउण्ट के टू हिमाल सफल आरोहण गरेर विश्व कीर्तिमान गरेका १० जनालाई पनि सम्मान गरिएको थियो । 

यसैगरी दार्जिलिङका मोटिभेस्नल स्पिकर प्रमिस भुटिया, गायक राजु लामा, पूर्व मिस नेपाल मलिना जोशीलाई पनि सम्मान गरिएको थियो । धरानको पुतलीलाईनबाट सुरु भएको धरान १० के रनमा यो वर्ष १ सय ४१ जनालाई मात्रै सहभागी गराएको अध्यक्ष रमु राईले बताउनुभयो । गत वर्ष सम्पन्न आठौ संस्करणमा स्वदेश र विदेशका गरी ४ हजार धावक सहभागी भएका थिए । 

अध्यक्ष राईले भन्नुभयो, ‘विगतमा विभिन्न श्रेणीमा प्रतियोगिता हुने गरेकोमा कोरोना महामारी अझै बाँकी रहेकाले यस पटक धावकहरुबीच दुई श्रेणीमा महिला र पुरुषमा मात्रै भएको हो । स्थिति सामान्य भए अर्को वर्ष ५ हजार बढी धावकलाई उतार्ने छौं ।’ 

नेवा च्यारिटीले धरान रन मार्फत संकलित रकमलाई एचआइभी संक्रमित परिवारका बालबालिका, विपन्न तथा जेहेन्दार र शारीरिक रुपमा अशक्त बालबालिकाको निम्ति शिक्षामा लगानी गर्नका लागि शिक्षा कोष स्थापना गरेर सहयोग गर्दै आएको छ ।


प्रतिक्रिया