एपिएफ सेमिफाइनलमा

चैत्र ५, २०७७ | इलाम
लिगकम नकआउटको आधारमा हिजो देखि इलाममा सञ्चालित दोस्रो संस्करणको ‘इलाम आमन्त्रण खुल्ला भलिबल प्रतियोगितामा विभागीय टिम सशस्त्र प्रहरीको एपिएफले सेमिफाइनलको यात्रा तय गरेको छ । पहिलो खेलमा नेपाल पुलिस क्लवलाई ३/२ को सेटमा हराउदै २ अंक जोडेको एपिएफले आज दमक नगर भलिवल क्लव विरुद्ध ३/१ सेटको जित निकालेर ५ अंक पुऱ्याएको हो ।
समूहमा नेपाल पुलिस क्लवसँग १ अंक छ । भोली हुने खेलमा पुलिसले दमक नगर भलिवल क्लवसँग प्रतिष्पर्धा गर्नेछ । दमकले अहिलेसम्म अंक जोड्न सकेको छैन । सूमहमा एपिएफ, पुलिस र दमक सहभागि छन् । एपिएफ र पुलिसमा नेपाली राष्ट्रिय टिमका खेलाडीको बाहुल्य छ भने दमकसँग भारत कोलकत्ताको व्यवसायिक खेलाडीको समूह छ । एपिएफले दमक विरुद्ध २५/२१, २२/२५, २५/१२,२५/१९ को जित निकालेको हो । आजै सम्पन्न खेलमा समूह ‘क’को त्रिभुवन आर्मीले प्रतियोगितामा दोस्रो जित निकाल्दै ४ अंक पुऱ्याएको छ ।
भारतको हरियाणका खेलाडी सम्मिलित झापाको गौरादह नगर खेलकूद विकास समिति विरुद्ध ३/२ को जित निकाल्दै आर्मीले समिफाइनल यात्राको सम्भावना कायम राखेको हो । उद्घाटन खेलमा झापा विर्तामोडको विमान ट्रेडसलाई ३/२ को सेटमा पराजित गर्दै आर्मीले २ अंक जोडेको थियो । आजको खेलमा आर्मीले गौरादहलाई पराजित गर्ने क्रममा २५/२०, २२/२५, २३/२५, २५/१४, १५/८ को नतिजा निकाल्यो । त्रिभुवन आर्मी, गण्डकी प्रदेश, गौरादह र विमान ट्रेडर्स सहभागी यो समूहमा सेमिफाइनल समिकरण थप रोचक बनेको छ ।
उद्घाटन खेलमा आर्मीसँग पराजित भारतको दिल्लीका खेलाडी सम्मिलित विर्तामोडको विमान ट्रेडर्सले डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेशलाई सिधा सेटमा पराजित गरेर आर्मीको समान ४ अंक पुर्याएको छ । भर्खरै पोखरामा सम्पन्न प्रतियोगितामा च्याम्पियन बनेको गण्डकीले हिजोको खेलमा गौरादहलाई सोझो सेटमा पराजित गर्दै ३ अंक बटुलेको थियो । विमानले गण्डकीलाई रोक्ने क्रममा २५/२०, २५/२३, २५/२३ नतिजा निकाल्यो ।
यो समूहमा भोली आर्मीले गण्डकी र विमानले गौरादहसँग प्रतिष्पर्धा गर्नेछन् । इलाम सदरमुकामको ठूलो टुडिखेलमा सञ्चालित प्रतियोगिताको बिजेताले दुईलाख एकहजार र उपविजेताले एक लाख एकहजार सहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगितामा ७ टिमको सहभागिता छ ।