संकटा क्लब आहा-रारा गोल्ड कपको फाइनलमा

तस्बिर सौजन्य : सुदर्शन रञ्जित  

चैत्र २५, २०७७ | पोखरा

संकटा क्लब पोखरामा जारी आहा–रारा गोल्ड कप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको सेमिफाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि यात्रा तय गरेको हो । 

खेलको ३३ औं मिनेटमा संकटाका सुवास गुरुङले गोल गरी टोलीलाई अग्रता दिलाए । उनले नेराज बस्नेतको फ्रि–किकको सदुपयोग गरेका थिए । पहिलो हाफमै दबाबमा परेको एपीएफले खासै आक्रमक हुन सकेन । 

खेलको ९० औं मिनेटमा आशिष राईको पासमा विदेशी खेलाडी ग्लोरीले अर्को गोल गर्दै संकटालाई जित दिलाए । खेलको ४१, ७३ र ८९ औं मिनेटमा पनि संकटाले गोल गर्ने अवसर पाएकोमा सदुपयोग गर्न सकेन । 

संकटाको डिफेन्स कटाउन एपीएफलाई निकै सकस भएको थियो । खेलमा म्यान अफ दी म्याच संकटाका अमित तामाङ घोषित भए । बिहीबार हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस र अफ्रिकन रुट्स एसोसिएसनबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया