एएफसी कपको प्लेअफमा आर्मीको फराकिलो जित

चैत्र २५, २०७७ | काठमाडौं

त्रिभुवन आर्मी क्लबले एएफसी कप प्लेअफ २०२१ को प्रारम्भिक छनोटको पहिलो चरणमा शानदार जित निकालेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा श्रीलंकन पुलिस स्पोर्टस क्लबलाई ५–१ गोल अन्तरमा पराजित गर्दै आर्मीले दोस्रो चरणमा प्रवेश गरेको छ । 

त्रिभुवन आर्मीले दोस्रो चरणको खेलमा अप्रिल १४ मा भारतको बैङलुरु फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । सो खेलको विजेताले समूह डीबाट छनोट चरणमा स्थान बनाउने छ । सो समूहमा भारतको मोहन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड क्रिएसन छन् । यो समूहको खेल मे १४ मा सुरु हुनेछ ।

दशरथ रंगशालामा आज भएको खेलमा १–० ले पछि परेको स्थिति उल्ट्याउँदै आर्मीले ५–१ को जित निकालेको हो । ४० औं मिनेटमा डिबक्स बाहिरबाट सन्तोष तामाङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसको २ मिनेटपछि भरत खवासको पासमा नवयुग श्रेष्ठले हेडरमार्फत गोल गरेपछि आर्मी पहिलो हाफमा २–१ को अग्रता बनाउन सफल भयो ।

पहिलो हाफ प्रतिस्पर्धात्मक भएपनि दोस्रो हाफमा आर्मीले एकलौटी खेल पस्किएको थियो । ५० औं मिनेटमा टंक बस्नेत, ८३ औं मिनेटमा सुधिर राई र अतिरिक्त समयमा नवयुगले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मी फराकिलो जित निकाल्न सफल भयो । श्रीलंकन पुलिसका लागि भने २७ औं मिनेटमा इभान्स सान्टेले सान्त्वना गोल गरेका थिए ।  


प्रतिक्रिया