काठमाडौं रेजर्स शीर्ष स्थानमा

वैशाख २६, २०७८ | काठमाडौं

नेपाल सुपर लिगको लिग चरणको समाप्तिमा काठमाडौंं रेजर्सले आइतबार शीर्ष स्थान कब्जा गरेको छ । दशरथ रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा काठमाडौंले एफसी चितवनलाई २–१ ले हरायो । 

यो जितपछि काठमाडौंको छ खेलबाट १३ अंक भएको छ र धनगढी एफसीलाई उछिनेर पहिलो स्थानमा पुगेको हो । काठमाडौं लिग चरणमा चार जित निकाल्ने एक मात्र टिम पनि रह्यो । अर्कोतर्फ चितवन भने जितहीन एक मात्र टिम रह्यो र खालि दुई अंकमा अन्तिम स्थानमा रह्यो । उसले छ खेलमा कुनै पनि जित निकाल्न सकेन । चिवतन चार खेलमा पराजित रह्यो भने दुई खेलमा बराबरीमा रोकियो ।

काठमाडौंको जितमा मेसुके ओलेमोयु र संजोक राईले एक एक गोल गरे । क्यामरुनी खेलाडी ओलेमोयुले १७ औं मिनेटमा पहिलो गोल गरेयता संयोकले ३४ औं मिनेटमा दोस्रो गोल थपे । चितवनका तर्फबाट राजीव लोप्चानले ४० औं मिनेटमा एक गोल फर्काए र यो प्रतियोगिताको ५० औं गोल रह्यो ।

शीर्ष दुई टोली धनगढी र काठमाडौंले फाइनलमा प्रवेशका लागि २८ बैशाखमा खेल्नेछ । सो खेलमा पराजित हुने टोलीले २९ बैशाखमा हुने ललितपुर र बुटवल लुम्विनीबीचको विजेतासँग पुन: फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ । फाइनल खेल १ जेठमा हुनेछ ।


प्रतिक्रिया