होला त ? वान टीम वान गोल

जेष्ठ १६, २०७८ | काठमाडौं

इराक उड्नु एक साताअघि ललितपुरको भिभान्ता होटलमा भेट हुँदा नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग उत्तर कम र प्रश्न ज्यादा थियो– नेपाली मिडियासँग । ‘मैले छानेको टोलीलाई लिएर खेल पत्रकारहरु के भन्छन् ?’ आफ्नो छनोट ठीक भएको निश्कर्षमा उनी मेरो आश्वासन खोजिरहेका थिए । हुन पनि विश्वकप छनोट र इराकविरुद्ध मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक छनोटमा नै केहि चर्चित नामलाई विश्राम दिंदै टोलीबाट १३ खेलाडी परिवर्तन गरी अन्तिम टोली घोषणा गर्दा धेरैले जिब्रो टोकेका थिए । यसरी पनि फुटबल खेलिन्छ र ? नेपाली फुटबल अब कसरी उँभो लाग्ला ? धेरैको मनमा संशय थियो ।

तर, एकसाता नबित्दै तिनै अलमुताइरीसँग प्रश्न र जिज्ञासा कम, उत्तर ज्यादा छन् । गोल गर्न नसक्ने टीमको छवि बनाएको नेपालले इराकसँगको मैत्रीपूर्ण म्याचमा शनिबार ६–२ ले नतिजा विपक्षीलाई सुम्पेको खेलमा पहिलो हाफमै २ गोल गर्नसक्यो । प्रशिक्षक अलमुताइरीले खराब नतिजाका लागि खेल समर्थकहरुसँग माफी मागे पनि टीम चयनमा झल्किएको उनको आत्मविश्वासले बसराको अल्फायहा अन्तर्राष्ट्रिय मैदानमै धेरै जवाफ दिइसकेको थियो । घरेलु भूमिमा थ्री नेशन्स कप जितेको नेपाली टोलीले गोलविहीन यात्रालाई ८ खेलसम्म तन्काएको थियो । टीम सम्हालेको एक महिना पनि नबित्दै र १०–१२ दिनको प्रशिक्षण र एक खेलबाटै कुनै पनि प्रशिक्षकको शैलीका बारेमा विश्लेषण गर्नु निकै हतार हुन्छ । तर, पनि शुरुको एउटै खेलबाट पनि अलमुताइरीले टोलीमा जुन तहको सकारात्मक ऊर्जा प्रवाह गरेका छन् त्यसबाट उनी सन्देहको लाभको असली हकदार बनेका छन् ।

युवा खेलाडीमा प्रशिक्षकको विश्वास मैदानमा पनि देख्न सकिन्थ्यो । सुमन अर्याल र रोहित चन्दजस्ता अनुभवी खेलाडी पनि ब्याक पास गर्दा दबाबमा परे । किरण चेम्जोङलाई पनि त्यस्तै भयो । त्यसैले इराकले ६ गोल गर्‍यो भन्नुको साटो हामीले गोलको धेरै अवसर उसलाई दियौं भन्नु उपयुक्त हुन्छ । तर, नेपाली टोलीले ६ गोल खाँदा पनि जुन जुझारुपन देखायो त्यो सह्रानीय छ । इराकसँगको मैत्रीपूर्ण म्याचपछि कुवेतमा हुने विश्वकप छनोटका बाँकी खेलमा यो जुझाइको यो अनभुव धेरै काम आउनसक्छ ।

तर, फुटवलमा जति नै अनुभव र उत्कृष्ट प्रदर्शन भए पनि सन्तोष दिलाउने नतिजाले नै हो । त्यसैले नतिजाका हिसाबले शनिबार नेपाली फुटबलप्रेमीका लागि खुशी हुने मौका नमिले पनि त्यसले सम्भावनाको ढोका भने उघारिदिएको छ । अब, प्रदर्शनलाई नतिजामा उतार्ने जिम्मेवारी प्रशिक्षक र खेलाडीको काँधमा छ ।

इराक लाग्नुअघि पत्रकार सम्मेलनमा अलमुताइरीले स्पष्ट शब्दमा भनेका थिए ‘नेपाली फुटबलको भविष्यको आधार तय गर्ने यात्रामा सरिक हुन हामी हिंडेका छौं ।’ हुन पनि विश्वकपमा छनोट हुने सपना देखेर नेपाली टोली इराक लागेको थिएन । कुनै भवितव्य नपरे आगामी सेप्टेम्बरमा बंगलादेशमा हुने तय भएको साफ च्याम्पियनसिप लक्षित टोली निर्माणनै अलमुताइरीको अर्जुनदृष्टि हो । त्यतिन्जेलका लागि उनलाई सन्देहको लाभ दिनु नै श्रेयस्कर हुन्छ ।

युवा खेलाडीलाई विश्वास गरेको भनेर चर्चा बटुले पनि अलमुताइरी पनि ‘बिग नेम’ को शिकार भए । किरण चेम्जोङको गल्तीमा ३ गोल खाँदा पनि उनलाई परिवर्तन गरेर दीप कार्की परख नगर्नु, पूर्ण फिट नदेखिएका रोहित चन्दको स्थानमा दिनेश राजवंशीलाई मौका दिन नसक्नु उनका केही कमजोरी रहे । ठूला टीमसँग अनुभव नबटुले नयाँ खेलाडीले ‘बिग म्याच’को दबाब झेल्न सक्दैनन् ।

तर, पनि इराकजस्तो टोलीसँग १–० ले पछि परेको अवस्थालाई २–१ को अग्रतामा लैजाने क्षतमा यसअघि कुनै पनि नेपाली टोलीमा देखिएको थिएन । अन्जन बिष्टले वान भर्सेस वानमा गोल गरेको भए त्यो अन्तर ३–१ मा पुग्ने र खेलको नतिजा अर्कै हुने सम्भावना पनि थियो । खैर, सम्भावनाको खासै महत्व हुन्न फुटबलमा, किनकी नतिजाले सबथोक बोल्छ । र, नतिजा नेपालको पक्षमा रहेन । तर, आफूभन्दा ठूला टोलीसँग १ गोलले पछि परेको अवस्थालाई ९० मिनेटभित्र आफू अनुकूलमा नेपालले यसअघि ढाल्न सकेको थिए । त्यसअर्थमा शनिबारको २–१ को अग्रताले धेरै अर्थ राख्छ ।

समग्रमा नेपाली फुटबल टोलीमा जुन सकारात्मकता देखिएको छ, त्यसको निरन्तरताको खाँचो छ । यसमा प्रशिक्षक अलमुताइरीको भूमिका महत्वपूर्ण छ । किनभने पहिले पहिले एन्फा नेतृत्वले टोलीमा अटाउने खेलाडीको नाम घुमाउरो र दबाबको शैलीमा प्रशिक्षकलाई टिपाउँथे । अहिलेको एन्फा नेतृत्वले प्रशिक्षकलाई जुन छुट र स्वतन्त्रता दिएको छ त्यसले दीघकालीन प्रभाव पार्नेमा कुनै शंका छैन । प्रशिक्षक अलमुताइरीले भनेजस्तै अब एन्फा नेतृत्व, प्रशिक्षक, टोली खेल प्रशसंकको एउटै लक्ष्य हुन जरुरी छ – ‘वान टीम, वान गोल’ 


प्रतिक्रिया