जीतपुर–सिमरा गोल्डकप चैतदेखि

फाल्गुन ७, २०७८ | बारा

जीतपुर–सिमरा गोल्डकपको १२ औं संस्करणको प्रतियोगिता चैतको दोसो सातादेखि हुने भएको छ । आयोजक नव जनजागृति युवा क्लबले शनिबार बाराको सिमरामा पत्रकार सम्मेलन गरी खेल फ्लड लाईटमा आयोजना हुने जनाएको हो । 

सिमरा रंगशालामा आयोजना हुने प्रतियोगिता ‘ए’ डिभिजनका ६ वटा क्लब, आयोजक र मोफसलका तीन गरी १० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र ग्याम्दाङले जानकारी दिनुभयो । 

चैत १० देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल सहित विभिन्न विद्यामा उत्कृष्ट प्रदर्शन खेलाडीलाई जनही २० हजार रुपैयाँका दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ । 

२०६६ बाट सुरु भएको प्रतियोगिताको उपाधि संकटा क्लब, त्रिभुवन आर्मी र मनाङ मस्र्याङदी क्लबले दुई–दुई पटक जितिसकेका छन् । यसैगरी आयोजक सिमरा, थ्रीस्टार, विजय युथ क्लब हेटौंडा, हिमालयन शेर्पा र मजदुर शहिद स्मृति क्लबले एक–एक पटक उपाधि उचालेका थिए । 

जीतपुर–सिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा सञ्चालन हुने प्रतियोगिताका लागि उपमहानगरले २५ लाख रुपैयाँ सहयोग गरेको छ । यस्तै, रंगशालाको पूर्वाधार मर्मत एवं फ्लड लाइट व्यवस्थापनका लागि उपमहानगरपालिकाले थप २० लाख रुपैयाँ सहयोग गरेको क्लबले जनाएको छ । 


प्रतिक्रिया