एसीसी महिला टी–ट्वान्टीमा नेपालको विजयी सुरुवात, भुटान ५० रनले पराजित

असार ३, २०७९

मलेसियामा सुरु एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात् गरेको छ । यूएसडी यूकेएम ओभलमा भएको खेलमा नेपालले भुटानलाई ५० रनले पराजित गरेको हो । ९५ रनको लक्ष्य पाएको भुटानलाई नेपालले ४४ रनमा अलआउट गरेको हो । त्यसक्रममा नेपालका लागि स्पीनर संगीता राईले सर्वाधिक चार विकेट तथा कविता कुँवर र सीता मगरले २/२ विकेट लिए । इन्दू वर्मा र अस्मिना कर्माचार्यको नाममा १/१ विकेट रह्यो । त्यसअघि टस जितेर व्याटिङ नेपालले ९४ रनको योगफल बनाएको थियो । नेपालका लागि काजल श्रेष्ठले २६ तथा कप्तान रुविना क्षेत्रीले २१ र इन्दू बर्माले २० रनको योगदान गरेका थिए । च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । च्याम्पियनसिपमा नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यस्तै समूह ’ए’ मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर रहेका छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ । च्याम्पियनसिप अन्तर्गत नेपालले दोस्रो खेलमा कुवेतसँग भोली खेल्नेछ । यस्तै नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ ।


प्रतिक्रिया